२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

इँटालाई सुन भनेर ठगी गर्न खाेज्ने सल्यानका २ जना सहित ५ जना पक्राउ

इँटालाई सुन भनेर ठगी गर्न खोजेको आरोपमा सल्यानका दुइजना सहित पाँच जना दाङबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका वडा नं. १ की ४९ वर्षीया सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका वडा नं. १ की ३० वर्षीया गीता बुढा, दाङ राजपुर गाउँपालिका वडा नं. ६ खाँग्रानाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का र दार्जुला जिल्ला व्यास २ का २३ वर्षीय सुरेन्द्रसिंह धामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी निरीक्षक सन्दीप बेलबासेको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई आइबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित एकान्त होटलको कोठा नं. १०३ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनीहरूले सर्वसाधारणलाई सुन बिक्री गर्ने बहानामा सुनजस्तो पहेंलो धातुको स्याम्पलमात्र देखाई अग्रिम रकम बुझेका थिए। गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरू बसेको कोठामा खानतलासी गर्दा दुई वटा इँटा बरामद भएको जानकारी दिएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस