२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

छत्रेश्वरीमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु, ८ सयभन्दा बढी खेलाडी सहभागी

सल्यानको छत्रेश्वरी गाउँपालिकामा सोमबारदेखि अध्यक्ष कपको पाँचौँ संस्करण तथा आठौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ।

शारदा माध्यमिक विद्यालय, शंखमुलको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले गर्नुभएको हो।

विहीबारसम्म सञ्चालन हुने प्रतियोगितामा ८३० जनाभन्दा बढी विद्यार्थी, खेलाडी तथा प्रतियोगीहरू सहभागी छन्। प्रतियोगिता सचिवालयका अनुसार अध्यक्ष कपअन्तर्गत पुरुष तथा महिला तर्फ विभिन्न खेल तथा सांस्कृतिक विधामा करिब ११५ जना प्रतियोगी सहभागी छन्। अध्यक्ष कपमा पुरुषतर्फ भलिबल र ब्याडमिन्टन, महिलातर्फ कुर्सी दौड र एकल लोकगीत प्रतियोगिता राखिएको छ।
यस्तै राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलाडी छनोट प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्टका विभिन्न विधामा करिब ७१६ जना विद्यार्थी खेलाडीहरू प्रतिस्पर्धा गरिरहेका छन्।

उद्घाटन समारोहमा मन्त्री अधिकारीले खेलकुद अनुशासन, नेतृत्व र सहकार्यको विकास गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले प्रदेश सरकारको तर्फबाट शिक्षा, पर्यटन लगायत स्थानीय तहको समग्र विकासमा कानुनसम्मत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन हुँदै आएको बताउँदै प्रतिभावान खेलाडीलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो। त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले खेल, कला र संस्कृतिमार्फत समाज रूपान्तरणको आवश्यकता औंल्याउनुभयो।

उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खेलकुदले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धी भावना विकास गर्ने बताउनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, प्रथम निर्वाचित उपाध्यक्ष सीता केसी, वडा नं. ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, कार्यपालिका सदस्य तुलसा बिक लगायतले खेलकुद पूर्वाधार र विद्यालयस्तरीय खेल गतिविधि प्रवर्द्धनमा जोड दिनुभयो।

यसैगरी समाजसेवी डिल्लिराज रेग्मी, नेकपा एमालेका नेव बहादुर खड्का, राप्रपाकी शिला बुढाथोकी, नेकपा माओवादीका शेर बहादुर खड्का, शारदा मावि व्यवस्थापन समिति अध्यक्ष लोकमणी रेग्मी, प्रधानाध्यापक जित बहादुर भण्डारी, नेपाल पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष खकेन्द्र केसी लगायतले खेलकुदलाई साझा विषयका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै युवालाई कुलत तथा नकारात्मक क्रियाकलापबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम हुने बताए।

कार्यक्रमका सहभागीहरूले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर हुनुका साथै विद्यालयबीच आपसी सम्बन्ध सुदृढ हुने र शैक्षिक वातावरण सकारात्मक बन्ने बताएका छन्।

पालिकास्तरमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले छत्रेश्वरी गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको जनाएको छ। कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत जीवराज केसीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस