२०८२ पुष २१ गते सोमवार | 2026 January 5th Monday

बागचौरमा खानेपानी गुणस्तर परीक्षण शिबिर सम्पन्न, ६३ योजनामा कोलिफर्म जीवाणु फेला

सल्यानको बागचौर नगरपालिकामा पौष १३ र १४ गते दुईदिने खानेपानी गुणस्तर परीक्षण शिबिर सम्पन्न भएको छ। नगरपालिकाभित्र सञ्चालनमा रहेका खानेपानी योजनाको वास्तविक अवस्था पहिचान गर्ने उद्देश्यले शिबिर आयोजना गरिएको हो।

शिबिरका क्रममा १०३ वटा खानेपानी योजनाका मुहान, ट्यांकी तथा घरभित्रको पानीका १४७ नमुना परीक्षण गरिएको थियो। परीक्षणबाट ६३ वटा खानेपानी योजनाको पानीमा कोलिफर्म जीवाणु फेला परेको वास इकाइ संयोजक बिरेन्द्र जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार २३ वटा योजनाको पानी भने सुरक्षित पाइएको छ।

खुला चरिचरन, खुला शौच, फोहोर व्यवस्थापनको अभाव तथा मुहान संरक्षणमा लापरवाहीका कारण खानेपानीका स्रोत प्रदूषित हुने गरेको पाइएको छ। कोलिफर्म जीवाणुयुक्त पानीको सेवनले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको नगरपालिकाले जनाएको छ।

कोलिफर्म देखिएका क्षेत्रका उपभोक्तालाई पानी उमालेर पिउने, फिल्टर प्रयोग गर्ने तथा क्लोरिनमार्फत शुद्धिकरण गर्न नगरपालिकाले आग्रह गरेको छ। साथै, इनलाइन क्लोरिनेशन प्रणाली प्रभावकारी देखिएको उल्लेख गर्दै मुहान संरक्षण, सरसफाइ प्रवर्द्धन र प्रदूषण नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको बताइएको छ।

नगरपालिकाले आगामी दिनमा पनि खानेपानीको नियमित परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष २० गते आइतवार
प्रतिक्रिया लेख्नुहोस