दाङको तुलसीपुरमा जारी ‘ तुलसीपुर महोत्सव’ मा आज चर्चित लोकदोहोरी गायक शक्तिकप चन्दको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ। शक्तिकप चन्दको प्रस्तुतिलाई आजको कार्यक्रमको मुख्य आकर्षणका रूपमा राखिएको आयोजकले जनाएको छ।
महोत्सव प्रचार–प्रसार समितिका संयोजक तिलकराज ओलीका अनुसार आजको कार्यक्रममा शक्तिकप चन्दले आफ्ना लोकप्रिय लोकदोहोरी तथा आधुनिक गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। उनको आगमनसँगै महोत्सवस्थलमा दर्शकको उल्लेख्य भीड उम्कने अपेक्षा गरिएको छ।
यसैबीच, शुक्रबारको महोत्सव उत्साहपूर्ण रूपमा सम्पन्न भएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव तथा सचिवालय व्यवस्थापन उपसमिति संयोजक भद्रबहादुर वलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार महोत्सवले स्थानीय कला, संस्कृति र व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।
पुस ४ गतेदेखि सञ्चालनमा आएको यस महोत्सवमा दैनिक रूपमा हजारौँ दर्शकको सहभागिता रहँदै आएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीका अनुसार कलाकारहरूको आकर्षक प्रस्तुतिले दर्शकको उत्साह बढाउनुका साथै व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा व्यापारिक स्टलहरू राखिएको आयोजकले जनाएको छ। महोत्सव आगामी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुतिसँगै थप आकर्षक बन्दै जाने अपेक्षा गरिएको छ।
