२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

बागचौरका मेयरको घोषणा: गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा

जेठ १०, सल्यान । 

सल्यानको बागचौर नगरपालिकाका नव निर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका छन्। मंगलबार नगरपालिकाको कार्यालयमा पुगेर दुवैले पदभार ग्रहण गरेका हुन् ।

प्रमुखमा निर्वाचित जनकराज गौतमले तत्काल नगरपालिकाको आफ्नै भवनमा आवश्यक प्रक्रिया पूरा गरी कार्यालय स्थानान्तरण गर्ने, नगर भित्रका गर्भवती महिलालाई प्रसूति जटिलता भई प्रसूति केन्द्रबाट रिफर भए अनुसार सल्यान जिल्ला अस्पतालसम्म जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स वा निःशुल्क यातायात सुविधा प्रदान गर्ने निर्णय गरेका छन् ।

यस्तै उपमेयर सुम्निमा डिसी वलीले  बागचौर नगरपालिकाबाट हाल लिइरहेको शुल्क, कर दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गर्ने र सरकारी विद्यालय (१ देखि १०)मा भर्ना शुल्क वापतको शुल्क नलिने व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेकी छन् ।

नव निर्वाचित नगरप्रमुख गौतम नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपप्रमुख डिसी वली माओवादी केन्द्रबाट निर्वाचित भएकी हुन्।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस