२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

सबै ग्याष्ट्राइटिस अल्सर र सबै अल्सर क्यान्सर हुँदैनन्

डा दिपेश गुरुवाचार्य
 
ग्याष्ट्राइटिस नेपालीहरुलाई सताउने आम समस्या हो। चिकित्सकिय भाषामा यसलाई ग्याष्ट्राइटिस भनिए पनि आमरुपमा भने यो समस्यालाई ग्याष्ट्रिक भनेर चिनिन्छ। सामान्यतया आमाशयमा कुनै किसिमको समस्याले उत्पन्न गर्ने लक्षणलाई ग्याष्ट्राइटिस भनिन्छ। ती लक्षणहरु सामान्यदेखि जटिल खालका हुन्छन्। 

पेट ढाडिने, पेट फुल्ने, धेरै ढ्याउ आउने जस्ता लक्षणहरु सामान्य हुन्। कसैलाई अल्सरका लक्षणहरु पनि देखिन सक्छन्। पेट पोल्ने, पेट दुख्ने लक्षणहरु पनि हुन सक्छन्। पेटको दुखाई, पेटमा ग्याँस भरियो, वाकवाकी लाग्यो, धेरै डकार आयो, पेट पोल्यो भनेर धेरै बिरामीहरु आउँछन्।

यसमा कारणहरु धेरै हुन सक्छन्। खानपीन, औषधिको सेवन, पेटको संक्रमणका कारण पनि यी समस्याहरु हुन्छन्। संक्रमणको कारण ‘एच पाइलोरी’ नामक ब्याक्टेरिया हुन्छ। पेट फुल्ने, पेट पोल्ने, धेरै ग्याँस भयो भनेर आएका तर ती बिरामीहरुमा तौल घटेको छैन, दिसामा रगत देखिएको छैन भने त्यसलाई सामान्य मान्न सकिन्छ। यही लक्षण भएका तर दिसामा रगत देखियो, मुखबाट रगत बग्यो, तौल घटेको छ, परिवारमा कसैलाई आन्द्रा सम्बन्धी क्यान्सर छ भने त्यसलाई जटिल ग्याष्ट्राइटिसको रुपमा लिनुपर्छ। यस्ता लक्षण भएका व्यक्तिहरुले तत्काल परीक्षण पनि गराउनुपर्छ।

सबै अल्सरले क्यान्सरको रुप लिन्छ ?
नेपाली समाजमा अहिले पनि ग्याष्ट्राइटिस बिग्रियो भने अल्सर, अल्सर बिग्रियो भने क्यान्सर हुन्छ भन्ने बुझाई छ। तर वैज्ञानिक हिसाबले यसमा सत्यता छैन। सबै अल्सर क्यान्सरमा जाने भन्ने हुँदैन। केही अल्सरहरु ग्याष्ट्राइटिसको कारणले भने हुन सक्छ। जस्तै एच पाइलोरी र औषधिले गराउने अल्सरहरु हुन्छ।

यो अल्सरले क्यान्सर नै हुनुपर्छ भन्ने छैन। तर कुनै–कुनै पेटको क्यान्सर इण्डोस्कोपी गरेर हेर्दा मासुको डल्लो जस्तो नपलाइकन खोपल्टो जस्तो घाउँ हुन्छ। अल्सरको स्वरुप हेरेर इण्डोस्कोपी गर्दा क्यान्सर पो हो की जस्तो भन्ने पनि लाग्छ। तर त्यो पनि बायोस्पी गरेर मात्र थाहा पाउन सकिन्छ। यो जरुरी छैन की ग्याष्ट्राइटिस बिग्रेर अल्सर र अल्सर बिग्रेर क्यान्सर हुन्छ। यो आम मानिसको बुझाई मात्र हो।

सबैभन्दा ठूलो भ्रम भनेको ग्याष्ट्राइटिसबाट अल्सर अनि अल्सरबाट क्यान्सर हुन्छ भन्ने कुरा हो। हरेक अल्सर ठिक नहुने र एकपटक अल्सर भएपछि सधैं हुने भन्ने हुँदैन।

घरेलु उपाय कत्तिको ठीक ?
ग्याष्ट्राइटिस भएपछि धेरैले अहिले पनि विभिन्न घरेलु उपायहरु अपनाउँछन्। यो ठीक÷बेठीक भन्दा पनि व्यक्तिको ग्याष्ट्राइटिसको अवस्था हेरेर हुन्छ। कसैलाई एकदम ग्याँस मात्र बन्ने, पेट फुल्ने, ढ्याउ आउने समस्या हुन्छ। यी समस्या भएका व्यक्तिले घरेलु खानपानलाई मिलाउँदा मात्र पनि धेरै कुरा ठिक हुन्छ।

जस्तै, ग्याँस बन्ने खानाहरु, दूधको परिकारहरु, डेरीजन्य वस्तुहरु, प्याकेटका जुस, बियर, मैदाजन्य खानेकुराहरु, कोल्ड ड्रिंकहरु कम गर्दा पेटलाई राहत मिल्छ। यी खानेकुराहरु सकेसम्म नखाँदा नै राम्रो हुन्छ। सामान्य अवस्थाको ग्याष्ट्राइटिसको समस्या छ भने खानपानलाई मिलाएर जीवनशैली परिवर्तन गर्दा राम्रो हुन्छ। तर कुनै व्यक्तिको उमेर ५० वर्षभन्दा माथि छ, दिसासँगै रगत बगिरहेको छ, तौल घटिरहेको छ र परिवारमा कसैलाई पेटको क्यान्सर छ भने चिकित्सकलाई देखाउनु नै उपयुक्त हुन्छ।

ग्याष्ट्राइटिस र खानपानको सम्बन्ध धेरै नै महत्वपूर्ण छ। माथि भनिएका यी खानेकुराहरु पचाउन नसकेर पेटमा ग्याँस बन्न पनि सक्छ। कसैको पेटले आटा, मैदाजन्य खानेकुरा पचाउन सक्दैन। कसैको पेटले दूधजन्य खानेकुरालाई पचाउन सक्दैन। यी खानेकुराहरु खाने बित्तिकै पेट फुल्ने, पखाला लाग्ने, पेट कराउने हुन्छ। जुन–जुन खानेकुराले गर्दा पेटमा ग्याँस बन्ने समस्या हुन्छ, ती खानेकुराहरु छाड्ने बित्तिकै ग्याष्ट्राइटिसको समस्या पनि कम हुन्छ।

सबै व्यक्तिलाई पेटको रोग सम्बन्धी सबै परीक्षण गराउनुपर्छ भन्ने छैन। उमेर समूह, व्यक्तिको स्वास्थ्य अवस्था अनुसार परीक्षण गराउनुपर्छ। २०/२२ वर्ष उमेरको व्यक्ति छ तर उसलाई दिसामा रगत जाने समस्या छैन र परिवारमा कसैलाई पनि क्यान्सर छैन भने औषधिबाट मात्र पनि मनिटरिङ गर्न सक्छौं। तर कोही व्यक्तिको उमेर पुगेको छ, तौल घट्ने, दिसामा रगत देखिने र परिवारमा कसैलाई आन्द्रासम्बन्धी क्यान्सर छ भने उहाँहरुले छिटो परीक्षण गराउँदा राम्रो हुन्छ।

ग्याष्ट्राइटिसको समस्याबाट बच्न शारीरिक व्यायामको महत्वपूर्ण भूमिका छ। जति हामी शारीरिक रुपमा सक्रिय रहन्छौं, त्यति नै पाचन प्रणाली राम्रो हुन्छ। ग्याँसको बिरामीहरुलाई पनि फाइदा गर्छ। आन्द्राको काम राम्रो भएपछि ग्याष्ट्रिकको समस्या पनि कम हुन्छ। जसरी स्वस्थ मुटुको लागि, मोटोपना नियन्त्रणका लागि व्यायामको महत्वपूर्ण भूमिका हुन्छ। पेट सम्बन्धी समस्याबाट बच्न पनि व्यायामको भूमिका महत्वपूर्ण मानिन्छ।

(पेट तथा कलेजो रोग विशेषज्ञ डा दिपेश गुरुवाचार्य स्टार अस्पतालमा कार्यरत छन्।)

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस