सल्यानकाे बागचाैर नगरपालिका वडा नं. १,२ र ३ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा भएको कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
१६ देखि ५९ महिना सम्मका वडा नं. १ मा १६१, वडा नं. २ मा २६८ र वडा नं. ३ मा १७३ गरी जम्मा ६०२ र १५ महिना मुनिका वडा नं. १ मा ४३, वडा नं. २ मा ८३ र वडा नं. ३ मा १८ गरी जम्मा १४४ जना बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्न माघदेखि चैतसम्म “खोज र खोप” अभियान सञ्चालन गरिएको थियो । त्यस अन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि वडा नं. १,२ र ३ लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेका प्रमुख हिमाल भण्डारीले बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतमले समृद्ध बागचाैर निर्माणका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नगरवासीहरु स्वस्थ हुनुपर्ने बताउनुभयो । खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत भए दिगोपना सुनिश्चित हुने उहाँको भनाइ छ । खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि योगदान पुर्याउने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह लगायतको लगन र मेहनतको सराहना गर्नुभयो ।
पूर्ण खाेप सुनिश्चितता निरन्तरता कायम राख्न कार्यक्रममा उपस्थित सबैले प्रतिवद्वता-पत्रमा हस्ताक्षर समेत गरेका छन ।
कार्यक्रमलाई सफल बनाउन सहयाेग पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई दाेसल्ला ओढाएर सम्मान गरिएको थियो ।
वडा नं. २ का वडा अध्यक्ष दिपेश डाँगीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, वडा नं. ३ का अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य राेजी बुढाथोकी, क्रियाशील राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविका, आमा समूह, शिक्षक, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत नगरवासीहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्यकर्मी धनमाया वलीले राख्नुभएको थियाे । कार्यक्रमकाे सहजीकरण स्वास्थ्य केन्द्र प्रमुख हिमाल भण्डारीले गर्नुभएको थियाे ।