६ जेठ, सल्यान ।
सल्यानका ६ पालिकामा दलको सत्ता उल्टिएको छ भने ४ पालिकामा पुरानै दलको राजनिती विरासत जोगिएको छ ।
जिल्लाको बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, सिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिकामा दलको सत्ता उल्टिएको छ ।
शारदा नगरपालिका, कालिमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका र दार्मा गाउँपालिकामा भने दलले आफ्नो विरासत जोगाएका छन् ।
बागचौर नगरपालिकामा २०७४ मा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख जितेको थियो । तर यो पटक बागचौरमा माओवादीले प्रमुख गुमाएको छ । बागचौरको प्रमुखमा कांग्रेसका जनकराज गौतम विजय भएका छन् ।
त्यसैगरी बनगाड कुपिण्डे नगरपालिकामा यसअघि एमालेका गोविन्द पुनले जितेको थिए । तर यहाँ यो पटक माओवादीका कर्णबहादुर बुढाथोकी विजय भएका छन् । एमालेले यो पटक पनि पुनलाई नै उम्मेदवार बनाएको थियो । तर उनी पराजित बन्न पुगे ।
कपुरकोट गाउँपालिका पनि एमालेले सत्ता गुमाएको छ । यसअघि एमालेका भीम बहादुर सेनले जितेको कपुरकोट गाउँपालिकामा यो पटक एकीकृत समाजवादीले जितेको छ । यसपटक पनि एमालेले कपुरकोटमा सेनलाई नै उम्मेदवार बनाएको थियो तर सेन पराजित हुन पुगे ।
त्यस्तै छत्रेश्वरी गाउँपालिका यसअघि कांग्रेसले जितेको थियो । तर यो पटक यहाँ एमालेले गोल हानेको छ । एमालेका ओजबहादुर बुढाथोकी यहाँ विजय भएका छन् ।
सिद्ध कुमाख गाउँपालिकामा २०७४ मा तत्कालीन एमालेका चित्र बहादुर चलाउनेले जितेका थिए । एमाले फुटेपछि उनी एकीकृत समाजवादीमा लागेका छन् । यसपटक एकीकृत समाजवादीले पनि चलाउनेलाई नै उम्मेदवार बनाएको थियो । तर यो पटक यहाँ कांग्रेसका भरत गिरीले जित हात पारेका छन् ।
कुमाख गाउँपालिकामा पनि दलको सत्ता उल्टिएको छ । कुमाखमा यसअघि माओवादीले जितेको थियो तर त्यहाँ यो पटक कांग्रेसका मान बहादुर बुढाथोकीले जितेका छन् ।
जिल्लाका अन्य चार पालिकामा भने पुरानै दलले जितेका छन् । शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकामा कांग्रेसले पुन: जितेको छ । दार्मा गाउँपालिकामा माओवादी र कालिमाटी गाउँपालिकामा एमालेले पुनः जितेका छन् ।
शारदामा कांग्रेसका प्रकाश भण्डारी र त्रिवेणीमा कांग्रेसकै खिम बहादुर रावत नयाँ हुन भने दार्मामा निम बहादुर केसी र कालिमाटीमा दान बहादुर केसी पुरानै जनप्रतिनिधि हुन् ।
१० वटा पालिका रहेको सल्यानमा दानबहादुर र निम बहादुर मात्रै पुनः दोहोरिएका छन् भने अन्य ८ पालिका प्रमुख नयाँ हुन् ।