बागचौर नगरपालिका, सल्यानले जनकल्याण नमुना माध्यमिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ३ सम्मका १३० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेको छ।
शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने तथा गरिब, विपन्न र शैक्षिक रूपले पछि परेका वर्गका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले पोसाक वितरण कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं बागचौर नगरपालिकाका नगर प्रमुख तथा शिक्षा समिति अध्यक्ष जनकराज गौतमले, बालबालिकामा विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र खुशी वृद्धि गर्न पोसाक वितरण गरिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “कपडाको अभावका कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले पोसाक वितरण गरिएको हो।”
नगर प्रमुख गौतमले विद्यालय पोसाक केवल पोशाक मात्र नभई समता, समानता र एकताको प्रतीक भएको उल्लेख गर्दै भन्नुभयो, “विद्यालयमा जात, जाति, धनी वा गरिबको भेद हुँदैन। सबै विद्यार्थी हुन्, र त्यो समानताको अनुभूति पोसाकमार्फत गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।”
उहाँका अनुसार बागचौर नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई पोसाक वितरण गर्ने कार्यक्रम अघि बढाइएको छ।
पोसाक पाएका विद्यार्थीहरू निकै उत्साहित र खुसी देखिएका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोरख के.सीको अध्यक्षता, नगर प्रमुख जनकराज गौतमको प्रमुख आतिथ्य तथा अन्य जनप्रतिनिधि, शिक्षा शाखाका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।