२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

बागचौर नगरपालिकाले गर्यो सामुदायिक विद्यालयहरुका लागि ८ महत्त्वपूर्ण निर्णय

बागचौर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुकाे नियमित बैठक बागचौरमा सम्पन्न भएको छ ।
बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चित्रा बस्नेतकाे अध्यक्षतामा बागचौर नगरपालिकाका नगर प्रमुख एवं शिक्षा समिति अध्यक्ष जनकराज गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले सामुदायिक विद्यालयहरुका लागि यस्ता महत्त्वपूर्ण निर्णहरु गरेको छ जुन निम्न छन :-
१) बागचौर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा वार्षिक बिदाबाट कट्टी हुनेगरी मिति २०७९/०९/ २७ गते देखि मिति २०७९/१०/११ गते सम्म जम्मा १५ दिन हिउँदे बिदा गर्ने र २०७९ साल माघ १२ गते देखि विद्यालयमा नियमित रुपमा पठनपाठन गर्ने ।
२) बागचौर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा केही विद्यालयहरुले दोस्रो त्रैमासिक परीक्षा संचालनको समय तालिका प्रकाशित गरी सकेको बुझिएकोले यसरी परीक्षाको समय तालिका प्रकाशित गरिसकेका विद्यालयहरुले सोही बमोजिम परीक्षा संचालन गर्ने र परीक्षाको समय तालिका प्रकाशित नगरेका विद्यालयले मिति २०७९ / ०९ / १९ गते देखि संचालन गरी मिति २०७९ पौष २६ गते सम्म परीक्षा सम्पन्न गरि सक्ने ।
३) बागचौर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षा संचालनको लागि आगामी प्रधानाध्यापक बैठकमा छलफल गर्ने ।
४) बागचौर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा कार्यान्वयनमा भइरहेको दिवा खाजा व्यवस्थापनलाई निरन्तर दिने ।
५) बागचौर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा यस आर्थिक वर्षमा २०७९/०८० मा अनिवार्य बुक कर्नरको व्यवस्थापन गर्ने ।
६) बागचौर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुले विद्यालयका प्रधानाध्यापक समक्ष र प्रधानाध्यापकहरुले शिक्षा युवा तथा खेलकुद शाखासँग सम्पादित कार्यको कार्यसम्पादन प्रतिवेदन तयार गरि प्रत्येक चौमासिकमा शिक्षा युवा तथा खेलकुद शाखामा पेश गर्ने व्यवस्था मिलाउने ।

७) बागचौर नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको म्याद समाप्त भई गठन गर्न बाँकी रहेका सामुदायिक विद्यालयहरुले यथाशीघ्र गठन गरी शिक्षा युवा तथा खेलकुद शाखामा जानकारी गराउने ।

८) बागचौर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले विद्यालयको आवश्यकता अनुसार निजिस्रोतबाट शिक्षक नियुक्ति गर्नु परेमा नियुक्ति गर्नु पूर्व विज्ञापनका लागि नगरपलिकाबाट अनुमति लिने ।

बागचौर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चित्रा बस्नेतको अध्यक्षतामा बसेका बैठकमा विशिष्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतम लगायत विभिन्न विद्यालयका ६८ जना प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने बैठकको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा सहायक लक्ष्मी नारायण के.सीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस