सल्यानमा सञ्चालित क्रिकेट प्रतियोगितामा आयोजक शारदा नगरपालिकालाई घरेलु मैदानमा स्तब्ध पार्दै अघिल्लो पटकको उपाधि विजेता बागचौर नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।
लुहापिङ खेलमैदानमा बागचौरले टस जितेर फिल्डिङ रोजेपछि शारदाले पहिले ब्याटिङ गरेको थियो । बागचौरले शारदालाई सेमिफाइनमा ५ विकेटले हराउँदै अपराजित यात्रा कायम राखेको हो । शारदाले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोड्यो ।
शारदाका लागि दिपक गन्धर्भले २६ वलमा २७ रन जोड्नुभयो । यस्तै सजन सिंहले २० तथा आकाश सिंहले १६ रन जोडेपनि अरु ब्याट्सम्यान लामोसमय क्रिजमा टिक्न सकेनन् । शारदालाई सस्तैमा समेट्ने क्रममा बागचौरका राजन वलीले ४ ओभरमा ४५ रन खर्चिदैँ ३ विकेट लिनुभयो । यस्तै निर्मल डाँगीले २ तथा हेमराज बस्नेतले १ विकेट लिनुभयो ।
१४० रनको लक्ष्य सहित मैदान प्रवेश गरेको बागचौरले १९ ओभर १ बलमा ५ विकेट गुमाएर १४३ रन वनायो । बागचौरको जीतको लागि राजन वलीले ४९ बलमा ४४ रन बनाइ नटआउट रहनुभयो । यस्तै किशोर वलीले २८ तथा निर्मल डाँगीले १८ रन जोड्नुभयो ।
शारदाका नविन नेपालीले २ तथा सन्दिप गन्धर्भ, दिपक गन्धर्भ र पंकजराज भण्डारीले समान १/१ विकेट लिनुभयो । यस खेलमा बलिङ र ब्याटिङ दुबैमा राम्रो प्रदर्शन गरेका बागचौरका राजन वली प्लेयर अफ द म्याच घोषित हुनुभयो ।
शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा भएको दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आइतवार हुने छ । विजेताले एक लाख नगद तथा उपविजेताले पचाँस हजार नगद प्राप्त गर्ने छ ।