२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

मृतक टिकु मल्लको परिवारलाई १२ लाख ६५ हजार बिमा रकम हस्तान्तरण ।

बागचौर नगरपालिका वडा नं. २ खरिबोट बजारमा ब्यबसाय गर्दै आएका स्व.टिकु मल्लको परिवारलाई नेशनल माईक्रोफाईनान्स लघुवित्त बागचौर, शाखाले कर्जा बापतको १२ लाख ६५ हजार बिमा रकम हस्तान्तरण गरेको छ । २०७८ कार्तिक ३ गते पसल आगलागीबाट ज्यान गुमाएका मल्लको श्रीमती तुल्सा चन्दलाई उक्त कर्जा बापतको बिमा रकम बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतम उप-प्रमुख र शाखाका अध्यक्षद्वारा हस्तान्तरण गरिएको हो । उक्त कर्जा बापतको म्यादि बिमा रकम हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले स्व. टिकु मल्लप्रति हार्दिक श्रद्वासुमन अर्पन गर्दै जन्म, मृत्यु निरन्तर प्रक्रिया भएकोले परिवारमा परेको दुखमा राहात स्वरुप बिमा रकम हस्तान्तरण गरेकोमा नेशनल माईक्रोफाईनान्स लघुवित्त बागचौर, शाखालाई धन्यवाद दिए । गौतमले मृतक मल्लको परिवारमा अन्य समस्या परेमा थप सहयोगको लागि बागचौर नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट सधै साथमा रहने बताए ।

यस्तै बागचौर नगरपालिकाका नगर उप-प्रमुख सुम्निमा डि.सी.वलीले कुनै पनि व्यक्तिको मृत्यु भए पश्चात् बिमा रकम उपलब्ध गराउने कार्य निकै उत्कृष्ट भएको बताईन । उनले मृत्यु भएपछि परिवारमा आईपर्ने समस्याको केही हदसम्म भएपनि सहयोग पुर्याउन बिमा बापतको रकम उपलब्ध गराउने लघुवित्तलाई आभार प्रकट गर्दै पिडित परिवारकी श्रीमतीलाई सम्हालिन आग्रह गरेकि छिन । त्यस्तै वडा नं. २ का वडाध्यक्ष दिपेश डि.सी.ले पसल आगलागीबाट मृत्यु भएका मल्लको परिवारमा सहुलियत कर्जा बापतको उपलब्ध म्यादी बिमा रकमले परिवारलाई व्यवसाय संचालनसँगै अन्य कामको लागि ठुलो राहात पुग्ने बताए । उनले यस्ता किसिमका दुर्घटनाबाट ज्यान गुमाउनेहरुका लागि वडा हुँदै नगरसम्म पहल गरि सहयोग गर्नमा सधै तत्पर रहने बताए । नेशनल माईक्रोफाईनान्स लघुवित्त बागचौर, शाखाका प्रमुख बमकृष्ण वलीले कार्यक्रमको बारेमा जानकारी दिदै स्व. टिकु मल्लले ५ लाख ५० हजार कर्जा लिएको र उनको दुर्घटनामा परि मृत्यु भए पछि कर्जा बापत दोब्बर रकम प्राप्त गरेको जानकारी दिए । नेशनल माईक्रोफाईनान्स लघुवित्त बागचौर, शाखाकी फिल्ड सहायक रजनि के.सी.ले सहजीकरण गरेको कार्यक्रममा अध्यक्षता १३ नं. केन्द्रका समूह अध्यक्ष खुमराज डि.सी.ले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस