दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव आज पनि ऐतिहासिक भीडसहित पूर्ण रूपमा ‘हाउसफूल’ भएको छ । चर्चित अभिनेता नायक पल शाहको विशेष उपस्थितिले महोत्सवस्थलमा अभूतपूर्व उत्साह सिर्जना गर्दै दर्शकको भीड थामिनसक्नु बनेको हो ।
पल शाह स्टेजमा आउने खबर फैलिनासाथ तुलसीपुरसहित आसपासका क्षेत्रबाट हजारौँ दर्शक महोत्सवस्थलमा ओइरिएका थिए । लामो समयपछि आफ्नै गृह जिल्लामा सार्वजनिक कार्यक्रममा देखिन लागेका शाहलाई प्रत्यक्ष हेर्न बिहानैदेखि प्रशंसकहरूको उल्लेखनीय उपस्थिती देखिएको थियो ।
दिउँसोसम्म महोत्सवस्थल पूर्ण रूपमा भरिएपछि प्रवेशद्वारमा कडाइ गर्नुपरेको थियो । दर्शकदीर्घा खचाखच भरिँदा भित्र छिर्ने ठाउँसमेत नबाँकी रहँदा सयौँ दर्शक बाहिरै रोकिन बाध्य भएका थिए ।
विशाल भीडलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीहरूलाई निकै हम्मेहम्मे परेको थियो । स्टेज वरपर र स्टेजमै दर्शकको चाप अत्यधिक भएपछि केही समय कार्यक्रम सञ्चालनमा समेत कठिनाइ उत्पन्न भएको थियो ।
नायक पल शाह स्टेजमा उक्लिनासाथ दर्शकको हुटिङ, ताली र नाराले सम्पूर्ण महोत्सवस्थल गुञ्जायमान बनेको थियो । शाहले आफ्ना चर्चित गीतहरूमा संक्षिप्त नृत्यसहित प्रस्तुति दिँदा दर्शकहरूले उत्साहपूर्वक साथ दिएका थिए ।
महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले हालसम्मकै सबैभन्दा धेरै दर्शकको उपस्थिति देखिएको बताउँदै दर्शकको अपार उत्साहले आयोजकलाई थप हौसला मिलेको उल्लेख गर्नुभयो ।
महोत्सवको १४ औँ दिन आज नायक पल शाहसँगै चर्चित गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टंक खड्कालगायत कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो । भोलि भने चर्चित गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक टिकाजंग वलीले जानकारी दिनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, तुलसीपुरको
आयोजनामा पुस ४ गतेदेखि सञ्चालन भइरहेको यस महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति, व्यापारिक स्टल, बाल उद्यान, जलपरी, लण्डन ब्रिजलगायत विविध आकर्षणहरूले दर्शकको चासो दिनानुदिन बढाउँदै लगेको महोत्सव मूल आयोजक समितिका सदस्य–सचिव भद्रबहादुर वलीले बताउनुभयो ।
उहाँका अनुसार दर्शकहरूको उत्साहजनक सहभागीताले महोत्सवलाई थप सफल बनाउने विश्वास आयोजकमा बढेको छ । महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।
