तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’ को १३औँ दिन चर्चित कलाकारहरूको सशक्त र रोमाञ्चक प्रस्तुतिसँगै मेलास्थल दर्शकको उल्लासले गुञ्जायमान बनेको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा रहेकी चर्चित लोकदोहोरी गायिका ज्योति मगर र लोकप्रिय गायक कमल बिसी ‘माल्दाई’ को बेजोड सांगीतिक प्रस्तुतिमा दर्शकहरू भावनात्मक रूपमा झुमेका हुन्।
आफ्नो पृथक गायकी शैली, ऊर्जाशील स्टेज प्रस्तुतिका लागि परिचित गायिका ज्योति मगरले चर्चित गीतहरू प्रस्तुत गर्दा मेलास्थल ताली, हुटिङ र नृत्यले भरिएको थियो। दर्शकहरूले कलाकारसँगै गीत गाएर र नाचेर कार्यक्रमलाई अझ जीवन्त बनाएका थिए।
त्यसैगरी, गायक कमल बिसी ‘माल्दाई’ले आफ्ना लोकप्रिय सिर्जनामार्फत दर्शकलाई निरन्तर बाँधिराख्दै भरपुर मनोरञ्जन प्रदान गर्नुभयो। कलाकार र दर्शकबीचको आत्मीय संवादले कार्यक्रमलाई थप स्मरणीय बनाएको थियो।
चिसो मौसमको प्रवाह नगरी हजारौँ दर्शकहरूको उल्लेख्य उपस्थितिले महोत्सवको रौनक झनै बढाएको छ। दर्शकहरूको उत्साहपूर्ण सहभागीताले मेलास्थललाई साँच्चिकै उत्सवको थलोमा परिणत गरेको देखिन्थ्यो।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति भइरहेको छ। साथै, व्यापारिक स्टलहरू र बाल उद्यानले पनि दर्शकहरूको आकर्षण बढाउँदै लगेको छ।
१३औँ दिनसम्म आइपुग्दा दर्शकको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताउनुभयो। दर्शकको बढ्दो चापसँगै महोत्सवको आर्थिक कारोबारसमेत उत्साहजनक रूपमा वृद्धि भएको उहाँको भनाइ छ।
महोत्सवको १४औँ दिन भोलि चर्चित नायक पल शाह सहभागी हुने सांस्कृतिक संयोजक टिकाजंग वलीले जानकारी दिनुभयो। भोलि पल शाहसँगै गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टंक खड्कालगायत कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।
भोलिको कार्यक्रममा पनि दर्शकको उत्साहजनक सहभागिता रहने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका सदस्य–सचिव भद्रबहादुर वलीले बताउनुभयो। उहाँले दर्शकको अपार माया र समर्थनले आयोजक टिमलाई थप ऊर्जा र हौसला प्रदान गरेको उल्लेख गर्नुभयो।
पुस ४ गतेदेखि सुरु भएको प्रथम तुलसीपुर महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
