नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्ण बहादुर खडकाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, ललितपुरमा सम्पन्न भएको छ।
बैठकले समसामयिक राजनीतिक अवस्था तथा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै पार्टी संगठन सुदृढीकरण र आन्तरिक एकता मजबुत बनाउने निर्णय गरेको छ। यसैक्रममा, केन्द्रीय अनुशासन समितिको सिफारिसअनुसार विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टी समर्थित उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक–समर्थक बनेका वा अनुशासन विपरीत गतिविधिमा संलग्न व्यक्तिहरूमाथि गरिएको कारबाहीको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय बैठकले गरेको छ।
कारबाही माफी पाएका व्यक्तिहरूको क्रियाशील सदस्यता निरन्तरता दिने तथा नवीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ। कांग्रेसले यस निर्णयले पार्टीभित्र देखिएका असन्तुष्टि कम भई संगठनात्मक एकता थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।
बैठकले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य राजनीतिक दलमा आवद्ध भएका नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेको छ। पार्टीमा फर्किनेहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गरिने निर्णय गरिएको छ।
त्यसैगरी, लोकतान्त्रिक विचारधारामा आस्था राख्ने बौद्धिक, पेशागत तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूसँग विशेष संवाद र सहकार्य अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक पुस १३ गते आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरिएको छ।
