नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा पुस ४ गतेदेखि १९ गतेसम्म दाङ तुलसीपुरमा सञ्चालन हुन लागेको महोत्सवको ७५ प्रतिशत तयारी कार्य पूरा भएको छ। महोत्सवको तयारी अवस्थाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर के.सी.ले महोत्सव सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन २५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार समितिमार्फत विभिन्न उपसमितिहरू गठन गरी तयारी कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ।
कृषि, घरेलु तथा साना उद्योग तथा स्थानीय उत्पादनको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका लागि ५० वटा स्टल निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसले स्थानीय कृषक, उद्यमी तथा साना व्यवसायीलाई आफ्नो उत्पादन प्रदर्शन तथा बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महोत्सव स्थलमा कुल ४५० वटा स्टल रहनेछन्। ती स्टलहरूमा कृषि तथा उद्योगजन्य उत्पादन, व्यापारिक सामग्री, हस्तकला, खाद्य सामग्री तथा मनोरञ्जनसम्बन्धी सेवा उपलब्ध गराइने जनाइएको छ।
आयोजक महासंघका अनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।महोत्सवलाई सुरक्षित, व्यवस्थित र सफल बनाउन सुरक्षा, सरसफाइ, यातायात व्यवस्थापन तथा दर्शक सुविधालाई विशेष प्राथमिकतामा राखेर तयारी अघि बढाइएको जनाइएको छ।
