२०८२ माघ ५ गते आइतवार | 2026 January 18th Sunday

रोल्पामा कक्षा देखि करियरसम्मको आत्मनिर्भर सम्मेलन २०८२ सम्पन्न

रोल्पामा शुक्रबार कक्षा देखि करियरसम्मको आत्मनिर्भर सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनले विभिन्न क्षेत्रका विज्ञहरूसँग संवाद गर्दै विद्यार्थीहरूलाई मार्गदर्शन र प्रेरणा प्रदान गरेको छ।

कार्यक्रममा ब्युरोक्रेसी कमलराज वली, स्वास्थ्य क्षेत्रका डा. जगतकिरण वली, शिक्षक नेत्रलाल वली, प्राविधिक ई. चूडामणि डाँगी, मूर्तिकला कलाकार टोपेन्द्र डाँगी, व्यवसायी रुद्र खड्का, संगीतज्ञ रमेश डाँगी, कृषि तथा पशुपालनमा लोकमान वली, सूचना सञ्चार तथा प्रविधि विशेषज्ञ तिलक के.सी., मिडिया तथा कन्टेन्ट क्रिएटर के.बी. गुरुङ, युवा तथा खेलकुद प्रेमबहादुर बि.क., सुरक्षा (प्रहरी) देवराज के.सी., सिलाइकटाइ (टेलरिङ)का जिवराज परियार लगायत १३ क्षेत्रका व्यक्तित्वले आफ्ना अनुभव साटासाट गर्दै सफलता हासिल गर्ने उपायबारे ज्ञान दिएका थिए।

सम्मेलनले “काम सानो वा ठूलो हुँदैन” भन्ने सन्देश फैलाउँदै, समाजमा सबै पेशा र व्यवसायको समान सम्मान हुनुपर्छ भन्ने कुरालाई स्पष्ट रूपमा प्रवाह गरेको थियो।

कार्यक्रममा सहभागी प्यानलिस्टहरूले विद्यार्थीहरूको अन्योलता हटाउँदै उज्ज्वल भविष्य निर्माणका लागि मार्गदर्शन गरेका थिए। पशुपालक लोकमान वलीले बाख्रापालनमा रुचि राख्ने युवाहरूका लागि तीन महिनाको निःशुल्क तालिम सञ्चालन गर्ने र एक जोडी उन्नत जातको बाख्रा उपहारस्वरूप दिने घोषणा गरेका छन्। त्यसैगरी, मूर्तिकार टोपेन्द्र डाँगीले मुर्तिकला सिक्न इच्छुक युवाहरूलाई निःशुल्क तालिम, पारिश्रमिक र जागिरको ग्यारेन्टीसमेत दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कन्क्लेभ संयोजक तेजबिक्रम वलीका अनुसार, सम्मेलनले युवाहरूको भविष्य निर्माणमा मार्गदर्शक भूमिका निभाएको साथै स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरता सिर्जना गर्ने सम्भावना उजागर गरेको छ।

कार्यक्रम लोकबहादुर वलीको अध्यक्षतामा भएको थियो। स्वागत गीतमा भरत खड्काले प्रस्तुति दिएका थिए। सम्मेलन जनज्योति नवप्रतिभा जनसंस्थाको आयोजनामा सिद्धार्थ नमुना मावि, घोप्टेओढार–३, गंगादेब, रोल्पाको सभाहलमा सम्पन्न भएको हो। सहजीकरण तेजबिक्रम वली, प्रविनकुमार वली र रस्मिता गिरीले गरेका थिए।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस