२०८२ कार्तिक २४ गते आइतवार | 2025 November 9th Sunday

तरुण दल र नेविसंघको नेतृत्वमा त्रिवेणी लोटाउने खोलामा अस्थायी काठे पुल निर्माण 

अटो व्यवसायी, स्थानीयवासी र सचेत युवाको श्रमदान, विभिन्न संघसंस्था र व्यक्तिहरूको सहयोग

सल्यानको लुहाम–कालिमाटी सडकखण्डअन्तर्गत त्रिवेणीस्थित लोटाउने खोलामा अस्थायी काठे पुल निर्माण कार्य सम्पन्न भएको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सल्यान र नेपाल विद्यार्थी संघ (नेविसंघ) सल्यानको नेतृत्वमा अटो व्यवसायी, स्थानीयवासी तथा सचेत युवाहरूको सक्रिय सहभागितामा नितान्त श्रमश्रोतको भरमा पुल निर्माण गरिएको हो।

वर्षायामसँगै खोलामा पानी बढ्दा आवागमन अवरुद्ध हुँदा विद्यार्थी, बिरामी, किसान र दैनिक यात्रुहरूलाई ठूलो कठिनाइ भएको थियो। तत्कालका लागि अस्थायी पुल प्रयोगमा ल्याइएको भए पनि स्थायी समाधानका लागि पक्की पुल अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ।

नेविसंघ सल्यानका जिल्ला अध्यक्ष केशब जंग डाँगीले भने, “अस्थायी पुल पूर्ण समाधान होइन, यहाँ पक्की पुल निर्माण गर्नुको विकल्प छैन। यसको निम्ति सम्पूर्ण राजनीतिक दलहरू एवम् नागरिक समाजले आवश्यक दबाब सम्बन्धित निकायहरूमा दिनुका साथै रचनात्मक पहल गर्नु जरुरी छ। राजनीति सबैथोक होइन, मेरो बिन्ती छ—यस्ता कुराहरूलाई राजनीतिक स्टन्टको रूपमा नभएर सामाजिक उत्तरदायित्वको रूपमा बुझियोस्।”

त्यस्तै, नेपाल तरुण दल सल्यानका जिल्ला कार्यसमिति सदस्य सुकलाल खडकाले भने, “स्थानिय बासिन्दा लामो समयदेखि यातायात समस्यामा परिरहेका थिए। तत्काल समाधानका लागि हामीले अस्थायी पुल बनाएका हौं। तर यो दीर्घकालीन समाधान होइन, यसलाई स्थायी पुल निर्माणतर्फ लैजान अब सरकार गम्भीर हुनुपर्छ।”

यस कार्यमा अटो व्यवसायीहरू, जेसिभी व्यवसायी राम लक्ष्मण कन्सट्रक्सन, ट्र्याक्टर सहयोग त्रिवेणी–३ का निवर्तमान वडाध्यक्ष हुकुमप्रसाद महतारा, काठ चिरानी तथा फर्निचर सहयोग हरि बुढा र शिवबहादुर बस्नेतको उल्लेखनीय योगदान रहेको बताइएको छ।

स्थानीयवासी र सचेत युवाहरूले समेत अस्थायी पुल बनेपछि आवागमन सहज भएको अनुभव व्यक्त गर्दै स्थायी संरचना निर्माणका लागि सम्बन्धित निकायलाई आवश्यक दबाब दिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस