२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

तरुण दलको पहल : लुहाम–काभ्रा–कालिमाटी सडक मर्मत

सल्यानमा वर्षाका कारण बिग्रिएको लुहाम–काभ्रा–कालिमाटी सडक खण्डमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले मर्मत सम्भार गरेको छ। लगातारको वर्षाले सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी र हिलो जमेपछि यातायातमा कठिनाइ बढेपछि तरुण दलले सोमबार सामूहिक पहल गरेको हो।

सामाजिक उत्तरदायित्व अन्तर्गत तरुण दलका जिल्ला कार्यसमिति सदस्य शुकलाल खड्काको नेतृत्वमा स्थानीय कार्यकर्ता र युवाहरूले सडकको मर्मत सम्भार गरेका छन्।

जिल्ला कार्यसमिति सदस्य खड्काका अनुसार, सडकमा रहेका खाल्डा भर्ने, पानी निकासको व्यवस्था मिलाउने र असुविधा हुने स्थानमा अस्थायी मर्मत गरिएको छ। उनले भने, “हामीले लुहाम–कालिमाटी सडक खण्डको गौरेजिउला क्षेत्रमा करिब १०० मिटर सडक मर्मत गरेका हौं। काममा बेलचा, गैंती, ट्र्याक्टर र जेसीबी प्रयोग गरेका हौँ।”

सडक बिग्रँदा सर्वसाधारणले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै तरुण दलले अस्थायी रूपमा भए पनि सडक प्रयोगयोग्य बनाएको छ। स्थानीय बासिन्दा, यात्रु तथा गाडी सञ्चालकहरूले सडक समस्या स्थायी समाधानका लागि सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस