२०८३ बैशाख २३ गते बुधवार | 2026 May 6th Wednesday

बागचौरमा ४३ औं बीपी स्मृति दिवसमा वृक्षरोपण कार्यक्रम सम्पन्न

नेपाली काँग्रेस बागचौर नगर कार्यसमितिको आयोजनामा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा बहुदलीय प्रजातन्त्रका प्रणेता स्व. बिश्वेश्वर प्रसाद (बीपी) कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम बागचौर नगरपालिका–२ स्थित जेष्ठ नागरिक भवन परिसरमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री एकराज डाँगी, प्रदेश सदस्य रुद्र चन्द, जिल्ला सह-सचिव, बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, नेपाली काँग्रेस बागचौरका नगर सभापति तथा वडा नं. २ का अध्यक्ष दिपेश डि.सी, जेष्ठ नागरिक संघ, नेपाल तरुण दल, नेविसंघका प्रतिनिधिहरू, युवाहरू र स्थानिय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले बीपी कोइरालाको दूरदृष्टि, लोकतान्त्रिक मूल्य र समाजवादी सोचलाई स्मरण गर्दै उहाँको योगदानले आजको लोकतान्त्रिक नेपालको आधार तयार भएको उल्लेख गरे। साथै, कार्यक्रममार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, र सामाजिक उत्तरदायित्वप्रति पार्टीको प्रतिबद्धता दोहोर्याइएको छ।

उक्त अवसरमा विभिन्न फलफूल र छायादार प्रजातिका बिरुवाहरू रोपिएका छन्, जसले भविष्यमा समाजलाई पर्यावरणीय लाभ पुर्‍याउनेछ।

प्रकाशित मिति : २०८२ साउन ७ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस