२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्। घुस काण्डमा संलग्न भएको आरोपसहितको अडियो सार्वजनिक भएपछि चर्किएको राजनीतिक र जनदबाबका बीच उनले सोमबार राजीनामा बुझाएका हुन्।

गुप्ताले सामाजिक सञ्जालमार्फत् राजीनामाको जानकारी दिँदै भनेका छन्, “भ्रष्टाचारको आरोप सार्वजनिक भएको सन्दर्भमा नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिएको छु।” उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएको उल्लेख गरेका छन्।

अडियो सार्वजनिकपछि चुलिएको दबाब

हालै सार्वजनिक भएको अडियोमा गुप्ताले करिब ७८ लाख रुपैयाँ घुस लिएर कर्मचारी सरुवा र नियुक्तिको कुरा मिलाएको आवाज सार्वजनिक भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि सत्तारूढ दल भित्रैबाट उनलाई तत्काल राजीनामा दिनुपर्ने आवाज उठेको थियो।

प्रतिनिधिसभाका सदस्य गगन थापा, किरणकुमार साहलगायत सांसदहरूले मन्त्री गुप्ताको राजीनामा वा बर्खास्तीको माग गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक समाज र आम सर्वसाधारणले पनि तीव्र विरोध जनाउँदै कारबाहीको माग गरेका थिए।

प्रधानमन्त्रीको मौनता र आलोचना

घटनापछि प्रधानमन्त्री ओलीको मौनताप्रति समेत व्यापक आलोचना भएको थियो। बालुवाटारमा केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकमा समेत यो विषयमा चर्चा नगरेको भन्दै प्रधानमन्त्रीको भूमिकालाई लिएर प्रश्न उठेका थिए।

गुप्ताको राजीनामापछि अब प्रधानमन्त्रीले नयाँ सामान्य प्रशासनमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढाउनेछन्। यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले सार्वजनिक अडियोको अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

राजीनामा भए पनि सार्वजनिक पदमा रहेका व्यक्तिहरूले जवाफदेही बन्नुपर्ने माग बलियो रूपमा उठिरहेको छ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस