२०८२ माघ ९ गते बिहिवार | 2026 January 22nd Thursday

SEE २०८२ उतीर्ण कर्णालीका विद्यार्थीका लागि सम्मान तथा करियर परामर्श कार्यक्रम हुँदै

काठमाडौँ, साउन १ — कर्णाली प्रदेशका २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) उतीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै कर्णाली युथ फाउन्डेशनले विशेष सम्मान तथा करियर परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ।

फाउन्डेशनका अनुसार कार्यक्रम यही साउन २ गते, बिहान ११:३० बजे, काठमाडौंको बसुन्धरास्थित साउथ वेस्ट्रन स्टेट कलेजमा सम्पन्न हुनेछ।

कार्यक्रमको उद्देश्य कर्णालीका १० वटै जिल्लाबाट काठमाडौंमा आएका नवउदीयमान विद्यार्थीहरूलाई सामाजिक सम्मान प्रदान गर्नुका साथै उनीहरूको शैक्षिक तथा व्यावसायिक भविष्यप्रति मार्गदर्शन गर्नु रहेको छ।

कार्यक्रमबारे जानकारी दिँदै फाउन्डेशनका अध्यक्ष मोहन ओलीले भने, “यो कार्यक्रम केवल सम्मानको लागि होइन, कर्णालीका नवप्रवेशी प्रतिभाहरूप्रति हाम्रो साझा जिम्मेवारी स्वरूप मार्गदर्शन दिने उद्देश्यले आयोजना गरिएको हो।”

उनले थपे, “राजधानीमा पढ्न र अघि बढ्न आएका विद्यार्थीहरूबीच आपसी सञ्जाल विस्तार र आत्मबल अभिवृद्धि पनि कार्यक्रमको लक्ष्य हो।”

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूद्वारा करियर परामर्श प्रदान गरिने र सहभागी विद्यार्थीहरूलाई आफ्ना अनुभव तथा विचार खुलस्त अभिव्यक्त गर्ने अवसर पनि दिइने फाउन्डेशनले जनाएको छ।

कर्णाली युथ फाउन्डेशनले यसअघि पनि शिक्षा, नेतृत्व विकास र सामाजिक उत्थानका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया लेख्नुहोस