मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न सर्वपक्षीय भुमिका निर्वाह गर्नु पर्नेमा बुधवार बागचौरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग एवं बागचौर नगरपालिकाको समन्वयमा भईरहेको मानसिक स्वास्थ्य नमुना पालिका कार्यविधी सम्बन्धि अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन ।
नेपाल सरकारको गोरखाको पालुङ्टार नगरपालिका र सल्यान जिल्लाको बागचौर नगरपालिकालाई मानसिक स्वास्थ्यको नमुना पालिका बनाउने कार्यक्रम अनुरुप विभिन्न सरोकारवालाहरुसंग छलफल कार्यक्रम अगाडि बढाएको छ ।
उक्त छलफलमा नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले नगरपालिकाको प्राथमिकताको क्षेत्रको बारेमा जानकारी दिदै गरीबी, बेरोजगारी, बैदेशिक रोजगारी जस्ता कारणले मानसिक स्वास्थ्य समस्या बढी रहेको छ बताउनुभयो। युवाहरु बैदेशिक रोजगारीमा जानेक्रम बढ्दो छ । यसलाई रोक्नका लागि हामीसंग विकल्प छैनन् । बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई सीप सिकाउन सक्यो भने पनि उनीहरु विदेशमा दुःख पाउँदैनन् । यसले पनि मानसिक स्वास्थ्य समस्या कम गर्न सकिन्छ ।” उहाँले भन्नुभयो-“नगरपालिकाले कृषि क्षेत्रलाई बढवा दिनु पर्छ । हाम्रा यहाँका पाखापखेरालाई उत्पादनमुलक बनाउनु पर्छ । व्यवसायीमुलक बनाउनु पर्छ । यस्तै शिक्षा, स्वास्थ्य क्षेत्रलाई संगसंगै लैजानु पर्छ ।”
त्यस्तै उक्त छलफलमा सहभागी वडा अध्यक्षहरुले टोल टोलमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेको उल्लेख गर्दै यसबारेमा जनचेतनामुलक कार्यक्रम व्यापक गर्नु पर्नेमा जोड दिएका थिए । मानसिक स्वास्थ्यको औषधी उपचारका लागि जनशक्ति विकास गर्न पनि जरुरी रहेको बताए ।
सरोकारवालाहरुले यो कार्यक्रमको प्रभावकारिताका लागि स्कुल, शिक्षक, अभिभावक, घरपरिवारका सदस्य, जनप्रतिनिधीहरु, स्वास्थ्यकर्मीहरु लगायत सबैले भुमिका निर्वाह गर्नु पर्ने जोड दिएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका निर्देशक डा. शक्ति प्रसाद सुवेदीले मानसिक स्वास्थ्य सवाललाई न्यूनीकरण गर्न जटिल रहेकाले यसका लागि बहु क्षेत्रीय एवं सर्बपक्षीय ढंगले कार्यक्रम अगाडि बढाउन जरुरी रहेको बताउनु भएको थियो ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मानसिक स्वास्थ्य फोकल पर्सन टेकराज डि.सीले नेपाल सरकारको मानसिक स्वास्थ्य नमुना पालिका बनाउने कार्यक्रम अनुरुप यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न मद्दत पुगोस भन्ने उद्देश्यले विभिन्न चरणमा सरोकारवालाहरुसंग छलफल गरिरहेको बताउनु भयो । उहाँले सरोकारवालाबाट आएका कुराहरुलाई लिदै कार्यक्रमको प्रभावकारिताका लागि कार्ययोजना बनाई अगाडि बढाउने जानकारी समेत दिनुभयो ।
नमुना पालिका कार्यक्रम मार्फत मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको क्षमता विकास गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरुलाई बुधवारदेखि विहीबार सम्मका लागि रिफ्रेसर तालिम समेत भईरहेको छ । उक्त तालिममा यस नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १९ जना स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियोे ।तालिमको सहजीकरण मानसिक रोग विशेषज्ञ डा. निराजन भट्टराईले गरीरहनु भएको छ ।
बैशाख १३ गतेसम्म मानसिक स्वास्थ्य नमुना पालिका कार्यविधी सम्बन्धि अन्तरक्रिया तथा अभिमुखीकरण विभिन्न सरोकारवालाहरुसंग छलफल गरिने छ ।