२०८१ फाल्गुन २६ गते सोमवार | 2025 March 10th Monday

स्ववियु निर्वाचन: सल्यानमा नेबिसंघ र अनेरास्ववियु गठबन्धन 

सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सल्यानमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् ।

काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सल्यानले चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियु निर्वाचनमा गठनबन्धन गर्ने निर्णय गरेका हुन् ।

सहमति अनुसार सल्यानका ७ मध्ये ४ क्याम्पसको नेतृत्व नेबिसंघ र ३ क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिने भएका छन । जस अनुसार जनकल्याण क्याम्पस थारमारे, शिवजन क्याम्पस शितलपाटी, कपुरकोट बहुमुखी क्याम्पस र फारुला बहुमुखी क्याम्पसको नेतृत्व नेबिसंघले लिने र सल्यान बहुमुखी क्याम्पस खलंगा , शारदा क्याम्पस शंखमुल र बनगाड क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिने सहमति भएको हो ।

आइतबार भएको सहमतिमा नेपाली काँग्रेसकाे तर्फबाट जिल्ला सचिब प्रकाश भण्डारी र नेकपा एमालेको तर्फबाट जिल्ला उपाध्यक्ष तथा जनसंगठन प्रमुख ओजबहादुर बुढाथोकीले हस्ताक्षर गरेका छन् भने नेबिसंघको तर्फ बाट जिल्ला अध्यक्ष केशव डाँगी, अनेरास्ववियुको तर्फबाट कर्णाली प्रदेश कमिटी अध्यक्ष राजेश ओली र जिल्ला अध्यक्ष विशाल पुनले हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस