सल्यानकाे बागचाैर नगरपालिका महिला तथा बालबालिका शाखा र वास इकाईकाे संयुक्त आयोजनामा नगरपालिका कार्यालय र विभिन्न वडामा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हाे ।
सबै महिला तथा बालिकाकाे लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ यस वर्षकाे ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको हाे ।
कार्यक्रममा नगर प्रमुख जनकराज गाैतमले नेपालमा लामो संर्घर्ष पछि जनप्रतिनिधिले बनाएको संविधान हाम्रो महत्त्वपूर्ण दस्ताबेज रहेको बताउनुभयो । यहीँ संविधानको कार्यान्वयनसँगै महिलाहरूले नेतृत्व लिएका उदाहरण हामीसामु रहेकाे उहाँको भनाइ छ । नारीप्रतिको हेराइ, सोच र अधिकार प्राप्तिमा व्यापक अभियान चलाउन जरुरी छ जुन एकदिने दिवसले मात्र पूरा गर्न सक्दैन उहाँले भन्नुभयो । नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने खालका सिपमूलक र सचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको छ । नगर भित्र रहेका समस्याहरुलाई हल गर्नका निम्ति आफू तयार रहेको बताउँदै विकास निर्माणमा महिला आमा, दिदिबहिनी सँगै हातेमालो गरेर अगाडी बढ्ने नगर प्रमुख गाैतमले बताउनुभयो ।