२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

बागचौर नगरपालिकाको मेयर कप प्रतियोगितामा पहिलोपटक क्रिकेट खेल समावेश 

सल्यानको बागचौर नगरपालिकामा मेयर कप प्रतियोगिता हुने भएको छ । बागचौर नगरपालिकाको मेयर कपमा पहिलोपटक क्रिकेट खेल पनि समावेश गरिएको हो ।

आगामी फागुन १४ गतेदेखि १६ गते सम्म जनकल्यान नमूना मावि थारमारेको खेल मैदानमा संचालन हुने मेयर कप प्रतियोगितामा पहिलोपटक क्रिकेट प्रतियोगिता पनि हुने भएको हो ।

बिश्वभरि अहिले क्रिकेटको क्रेज बढेको र बागचाैर नगरपालिका अहिले क्रिकेटमय भएकाले मेयर कपमा पहिलोपटक क्रिकेट समावेश गरिएको बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले जानकारी दिनुभयो । उहाँले क्रिकेट खेल संचालन गर्न केही चुनाैतिहरु भएपनि नगरभित्रका खेलाडीहरुले क्रिकेट खेल प्रती देखाएको चासोले गर्दा पनि खेलाडीहरुमा सकारात्मक सन्देश प्रवाह होस् भन्ने उदेश्यले मेयर कपमा पहिलोपटक क्रिकेट खेल समावेश गरिएको बताउनुभयो ।

यस्तै बागचाैर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा बागचाैर नगरपालिकाका खेलकुद संयोजक टिकाराम वलीले बागचाैर नगरपालिका भित्रका क्रिकेट सँगै अन्य खेल खेल्ने खेलाडीहरुलाई माथिल्लो स्तर सम्म पुर्याउने र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले आगामी फागुन १४ गतेदेखि १६ गतेसम्म मेयर कप प्रतियोगिता संचालन हुन लागेको जानकारी दिनुभयो ।

क्रिकेट खेल अन्तर्गत एक्स्ट्रा खेलाडी सहित बागचाैर नगरपालिका भित्रका सम्बन्धित वडाका १५ जना खेलाडीहरु समावेश हुन पाइने उहाँले जानकारी दिनुभयो ।

मेयर कप क्रिकेट प्रतियोगितामा सहभागी भएर प्रथम हुने टिमलाई नगद ३५ हजार रुपैयाँ र द्वितीय हुने टिमलाई २५ हजार रुपैयाँको पुरस्कार राखिएको उहाँले जानकारी दिनुभयो ।

मेयर कप प्रतियोगितामा क्रिकेट सहित पुरुष भलिबल, महिला भलिबल, कबड्डि, एथलेटिक्स, ब्याटमिन्टन लगायतका खेलहरु पनि समावेश गरिएको बागचाैर नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस