२०८१ पुष ४ गते बिहिवार | 2024 December 19th Thursday

मदन भण्डारी राजमार्गकाे सल्यान बागचाैर देखि राेल्पाकाे माडीचाैर खण्डमा काम सुरु

मदन भण्डारी राजमार्ग अन्तर्गत राेल्पा-सल्यान खण्डमा निर्माणकाे काम सुरु गरिएकाे छ । राेल्पाकाे माडीचाैरदेखि घर्तीगाउँ, सुकाओडार हुँदै सल्यानकाे पातिहाल्न, बागचाैरसम्मकाे ५२ किलाेमिटर सडक दुई लेन कटिङ सहित कालाेपत्रे गरिने भएकाे हाे ।

जसका लागि ४ अर्व विनियाेजित बजेटमा कुमार श्रेष्ठ निर्माणा सेवा प्रा.लि काठमाडाैंले ३ अर्व २६ कराेडमा ठेक्का लिएर काम सुरु गर्न लागेकाे हाे । २०८४ भाद्र ९ गतेसम्म काम सक्नेगरी ३ वर्षकाे सम्झाैता गरिएकाे मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका सुचना अधिकारी ई. रेशम ओलीले बताए । सडक सामान्यतया ७.७ मिटरकाे चाैडाइ हुने र बजार क्षेत्र तथा घुम्तीहरूमा ठाउँ अनुसार त्यसभन्दा बढी चाैडाइ हुनसक्ने उनले बताए ।

माडीचाैरदेखि बागचाैरसम्मकाे ५२ किलाेमिटरमा करिब १५ सय मिटर जति ट्रयाक ओपन गर्न बाँकी रहेकाे र अन्यमा डबल कटिङ गर्नुपर्नेमा काम रहेकाे उनकाे भनाइ छ । अहिले निर्माण कम्पनी र आयोजनाका कर्मचारी सर्भेकाे काममा फिल्डमा गइसकेकाे उनले बताए ।

बजार तथा बस्ती क्षेत्रका जग्गाहरुकाे मुआब्जाकाे लागि आफुहरुले पहिले नै तथ्याङ्क संकलन गरिसकेकाे र त्यसकाे पनि प्रक्रिया अगाडी बढेकाे योजना कार्यालय सुर्खेतले जनाएकाे छ ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोड्नेछ । सडक करिव १२ सय किलोमीटर लामो हुनेछ ।

यो राजमार्ग मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा हुनेछ । यो राजमार्गले भित्री मधेससहित चुरे आसपासका क्षेत्र र महाभारत पर्वत श्रङ्खलाकाे माथिल्लाे भागका जिल्लाहरुलाई समेट्नेछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस