२०८२ असोज १ गते बुधवार | 2025 September 17th Wednesday

बागचाैर नगरपालिका वडा नं. ७ पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा 

वडा नं. ७ भित्र रहेका १६ देखि ५९ महिना सम्मका २७० जना बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

सल्यानकाे बागचाैर नगरपालिका वडा नं. ७ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि वडा स्तरीय खोप समन्वय समितिले आयोजना गरेको एक कार्यक्रमका बीच वडा नं. ७ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

वडा नं. ७ भित्र रहेका १६ देखि ५९ महिना सम्मका २७० जना बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्न माघदेखि वैशाखसम्म “खोज र खोप” अभियान सञ्चालन गरिएको थियो । त्यस अन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि वडा नं. ७ लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको काेटबारा स्वास्थ्य चाैकीका प्रमुख भुपेन्द्र भण्डारीले बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतमले समृद्ध बागचाैर निर्माणका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नगरवासीहरु स्वस्थ हुनुपर्ने बताउनुभयो । खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत भए दिगोपना सुनिश्चित हुने उहाँको भनाइ छ । खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि योगदान पुर्‍याउने सबै स्वास्थ्यकर्मीको लगन र मेहनतको सराहना गर्नुभयो ।

नगरपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने यस वर्षकाे वडा नं. ७ पहिलो वडा हो । कार्यक्रमलाई सफल बनाउन सहयाेग पुर्‍याउने आमा समूह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सी, वडा सदस्य, स्वास्थ्य शाखामा कार्यरत धन बहादुर पुन, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविका, आमा समूह, शिक्षक, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत नगरवासीहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्यकर्मी सपना के.सीले राख्नुभएको थियाे । कार्यक्रमकाे सहजीकरण स्वास्थ्य चाैकी प्रमुख भुपेन्द्र भण्डारीले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस