२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

बागचाैरमा महिनावारी सरसफाइ तथा स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम सम्पन्न

बागचाैर नगरपालिकामा पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । बागचाैर नगरपालिकाका १२ वटै वडाका सामुदायिक विद्यालयहरुका छात्रा, महिला स्वास्थ्य स्वयंसेवका, महिला कर्मचारी, समुदायका महिलाहरुलाई पुन: प्रयोग गर्न मिल्ने सेनेटेरी प्याड निर्माण सम्बन्धि २ दिने तालिम दिईएको हो ।

बागचाैर नगरपालिका, नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपियन यूनियनसंगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) योजना अन्तर्गत खानेपानी तथा सरसफाई क्षेत्रको समस्या समाधान गर्न योजना तथा कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिएको हाे ।

महिनावारी अर्थात रजस्वाला हुनु भनेको प्राकृतिक प्रकृया भए पनि यसको बारेमा अझै पनि हाम्रो समाजमा अन्धविश्वास व्याप्त रहेको छ । यिनै महिनावारी अर्थात रजस्वाला हुँदा गर्नुपर्ने सरसफाई तथा यसको प्रकृयाको बारेमा तालिममा सहभागीलाई जानकारी गराइएको छ ।

समुदायका महिला तथा विद्यालयमा अध्ययनरत छात्राहरुको प्रजनन्, महिनावारी स्वास्थ्य तथा महिनावारी स्वच्छता व्यवस्थापनलाई सहयोग पुयाउने उदेश्यले नगरपालिकाका सामुदायिक विद्यालयहरुका छात्रा, महिला स्वास्थ्य स्वयंसेवका, महिला कर्मचारी, समुदायका महिलाहरुलाई २ दिने महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम दिईएको बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बताउनु भयो ।

स्थानिय स्तरमा सेनेटरी प्याड प्रयोग सम्बन्धि प्रयोगमा चेतनाको अभाव र आर्थिक भारका कारण विपन्न परिवारका महिला तथा किशोरीहरु महिनावारीको समयमा फोहोर कपडाको प्रयोग गर्न बाध्य छन । तालिम पछि स्यानिटरी प्याड निर्माण तथा प्रजनन् स्वास्थ्य सम्बन्धि शिक्षा दिने नगरपालिकाले विश्वास लिएको छ । यसबाट गरिब तथा विपन्न परिवारका किशोरी प्रत्यक्ष लाभान्वित हुने र  तालिममा सिकेकाे सिप घरमा प्रयोग गर्दा स्थानिय महिलाहरु समेत राहत पुग्ने नगर प्रमुख गाैतमको भनाई छ ।

तालिममा पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड निमार्ण गर्ने तरीका तथा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विषयमा सहभागीहरुलाई सिकाइएको नगरपालिकाले जनाएको छ ।

तालिममा सहभागीहरुलाई स्यानिटरी प्याड निमार्ण गर्न आवश्यक पर्ने औजार समेत प्रदान गरिएको छ । बागचाैर नगरपालिकामा याे आर्थिक वर्षमा सम्पन्न हुनेगरी ५ वटा वडामा खानेपानी याेजना तथा ५ वटा वडामा संस्थागत सार्वजनिक शाैचालय निर्माण याेजना संचालन भइरहेका छन ।

बागचाैर नगरपालिकाका नगर प्रवक्ता दिपेश डि.सीकाे अध्यक्षता भएको तालिमकाे समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, विशिष्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, स्वास्थ्य शाखा प्रमुख हरि कठायत, सुचना प्रबिधि अधिकृत तिर्थ डाँगी, प्रशिक्षक सुस्वा इकाई प्रमुख निमराज के.सी, सुस्वा इकाई प्रमुख बिरेन्द्र जाेशी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सहजीकरण सुस्वा इकाईका कर्मचारी कमल वलीले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस