२०८२ असार १४ गते शनिवार | 2025 June 28th Saturday

बागचाैर नगरपालिकाले बनायो जिल्लामै पहिलोपटक स्थानीय पहिचान सहितकाे आफ्नै निशान छाप

सल्यानकाे बागचाैर नगरपालिकाले आफ्नै निशान छाप सार्वजनिक गरेकाे छ । नगरपालिकाकाे ११ औं नगर सभा मार्फत नगरपालिकाले निशान छाप सार्वजनिक गरेकाे हाे ।

नगरको पहिचान झल्किने गरी निशान छाप निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरको आफ्नो छुट्टै निशान छाप बनाएर प्रयोगमा ल्याउने सल्यानकाे १० वटा पालिका मध्ये बागचाैर नगरपालिका पहिलो स्थानीय तह हो । नगरपालिकाले नेपाल सरकारको निशान छापसँगै आफ्नै छुट्टै भौगोलिक पहिचान झल्कने छाप निर्माण गरेको नगर प्रमुख जनकराज गाैतमले जानकारी दिनुभयो।

 

नगरपालिकाको निशान छाप तुलसीपुर उपमहानगरपालिका वडा नं.६ का सन्तोष न्युपानेले बनाउनुभएको हो । निशान छापमा बागचौर नगरपालिकाको पहिचान झल्कने लालीगुराँस, लेकहरु, आलु खेती, सुन्तला खेती, बस्तीका घरहरु, स्थानीय बजारहरु, स्थानीय पशुपालन, स्थानीय मठमन्दिर, स्थानीय रूपमा उत्पादन हुने धान, मकै गहुँ, पानी घट्टा, नगरपालिकाकाे मुहान भएर बग्ने शारदा नदी, हिमाल, किसान, नगरपालिकाले निर्माण गरेको भ्यू टावर, झुलुङ्गे पुल, मादल, दमाह, सहनाई जस्ता बाजा, चन्द्र सूर्य अङ्कित नेपालको झण्डा, नगरपालिकाकाे नक्सा, दलित र मगर समुदायको प्रतिनिधित्व हुने भेषभुषा सहितको तस्बिर पनि छापमा समावेश गरिएको छ ।

समृद्धिका आधार कृषि, पर्यटन भएकाले नगरको भौगोलिकताका विविध पक्ष समेटेर निशान छाप बनाइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया लेख्नुहोस