असार ०२, सल्यान – सल्यानको बागचौरमा २०८० जेठ १४ गते देखि जेठ २१ गतेसम्म संचालन भएको महायज्ञ पुराणको आयोजक समितिले आय व्यय सार्वजनिक गरेकाे छ ।
बागचौर नगरपालिकाको आर्थिक सहयोग र ज्येष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा जेठ १४ गते देखि ७ दिनसम्म संचालन भएको श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह पुराणको आज बागचौरको होटेल शारदामा सार्वजनिक गरिएको हो ।
महायज्ञ सप्ताह पुराणमा दानवीर दाताहरुबाट उठेको रकम ३३ लाख ६० हजार ८१ रुपैयाँ, बागचौर नगरपालिकाकाबाट आर्थिक सहयोग १० लाख गरि जम्मा रकम ४३ लाख ६० हजार ८१ संकलन भएको र खर्च १६ लाख २१ हजार ८ सय १० रुपैयाँ भएको ज्येष्ठ नागरिक सेवा समाज बागचौर नगर समिति सचिव दिपेन्द्र शर्माले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिक सेवा समाज बागचौर नगर समिति अध्यक्ष युवराज गौतमले पूण्य आर्जन गर्ने, धर्म संस्कृतिको रक्षा गर्ने, बागचौर नगरपालिकाको पहिचान गराउने र ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी महायज्ञ सप्ताह पुराण संचालन गरिएको बताउँदै बचत रकमको सहि सदुपयोग गर्ने बताउनुभयो । उहाँले महायज्ञ अवधिभर विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै लगत्तै भवन निर्माण कार्य अगाडि बढाउन उचित र व्यवस्थित स्थानमा जग्गा दिने जग्गादाताको खोजी गर्ने उहाँको भनाइ छ ।