बागचौर नगरपालिका राजश्व शाखाको आयोजनामा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजश्व संकलन निकासी कर, करको दायरा तथा कर व्यवस्थापन गर्नका लागि राजश्व अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख जनकराज गौतमले कर लाई व्यवस्थित बनाउन कार्यक्रमको आयोजना गरिएको बताउँदै जनमानसबाट कुनै कुरामा कर लिनु ठिक छैन, कुनैमा ठिक छ भनिए पनि कर लिने नगरपालिकाको बाध्यता भएको बताउनुभयो । उहाँले अन्तरक्रिया बाट आएका सल्लाह, सुझावलाई अनुसरण गरेर जाने समेत बताउनुभयो। जनताको पसिनाबाट आर्जित सम्पतिलाई नगरपालिकाले दुरुपयोग गर्छ कि भनी संकोच नमान्न नगरवासीलाई आग्रह गर्दै यसको सहि व्यवस्थापन नगरपालिकाले गर्ने नगर प्रमुख गाैतमकाे भनाइ छ। बागचौर नगरपालिकालाई समृद्ध बनाउनका निमित्त करको दायरा बढाएर निरन्तरता दिएमा सम्भव हुने बताउनुभयो । संघीय सरकारबाट बजेट कम आउने र विकास निर्माणका काममा जोड दिन राजश्वबाट नै सम्भव भएकाले जनताले यसमा साथ दिनुपर्ने उहाँकाे भनाइ थियो।
अन्तरक्रिया कार्यक्रमका सभाध्यक्ष राजश्व परामर्श समिति संयोजक एवम् नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीले करलाई बोझ भन्दा पनि दायित्व बुझेर तिर्नु पर्ने बताउनुभयो । उहाँले अन्तरक्रिया कार्यक्रम बाट आएका रचनात्मक सुझावलाई संकलन गरि करको विषयमा टुंगो लगाउने उहाँको भनाइ छ ।
राजश्व परामर्श समिति संयोजक नगर उप-प्रमुख तथा सुम्निमा डि.सी वलीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता दिपेश डि.सी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, विभिन्न राजनीतिक दलका नेता, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, व्यापारी, किसान, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत नगरवासीहरुकाे सहभागीता रहेकाे थियोे । कार्यक्रमको उद्देश्य बारे बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नत कुमार गौतमले जानकारी दिनुभएको थियो । राजश्व परामर्श समिति सदस्य एवं वडा नं. ७ का वडाध्यक्ष प्रेम बहादुर डि.सी. ले स्वागत मन्तव्य राख्नुभएको थियोे, भने कार्यक्रमकाे सहजीकरण नगरपालिकाका कानुन शाखा प्रमुख पुर्ण वलीले गर्नुभएको थियो ।