सल्यानको बागचौरमा विभिन्न माग गर्दै अनसन बसेका वडा नं. २ निवासी रुद्र मधु डि.सी. ले अनसन तोडेका छन ।
डि.सी.बागचौर नगरपालिका वडा नं. २ अग्लाटाकुरा भ्यूटावरमा रहेको पर्यटकीय धार्मिक स्थल मन्दिरमा आफ्नो लगानीमा विभिन्न संरचनाहरु बनाएको र त्यस बापतको रकम माग गर्दै शुक्रबार बेलुका ७ बजे देखि अनसन बसेका थिए ।
अनसन बसेको खबर पाएपछि बागचौर नगर प्रमुख जनकराज गौतम, उप-प्रमुख सुम्निमा डि.सी. वली, वडा नं. २ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेश डि.सी. उक्त स्थानमा गई उनका मागहरुको बारेमा बुझेका थिए ।
त्यसलगत्तै नगर सरकार र अनसनवालाको वार्ता टोलि बसेर डि.सी.का मागहरु मध्ये भ्युटावरमा भजनका सामाग्री, पन्जे बाजाका सामाग्री खरिद गर्ने, भजन टिमको जिम्मा उनलाई नै दिने प्रतिबद्धता गरेका छन भने क्यान्टिनको लागि टेण्डर सिस्टमबाट मात्रै काम गर्ने र उनले देखाएको ऋण भने खर्च भएको र सहयोग उठेको रकम कहाँ-कहाँ तिरेको स्पष्ट तरिकाले देखाउनुपर्ने सहमति भएको छ ।
उनले देखाएको १४ लाख ३० हजार ऋण भने पारदर्शी नभएको पाईएकोले नगरपालिकाबाट भुक्तानी भएको रकम र सहयोगबाट उठेको रकम स्पष्ट खर्च कहाँ-कहाँ भएको भनी देखाउन र त्यसपछि पनि नपुगेको अवस्थामा आफुहरुले सक्दो सहयोग गर्ने तर सम्झौताबिनाको कामको नगरपालिकाबाट भुक्तानी गर्न नसकिने नगर प्रवक्ता डि.सी. ले बताए ।
बागचौरमा यो पहिलो भएकोले हिजो बेलुका देखि अनसन बसेका डि.सी.लाई हेर्ने भिड भने निकै थियो । जनताबाट उठेको रकममा नै पारदर्शिता नदेखिए पछि जायज माग गर्नु पर्ने तर नगरपालिकाको बिना अर्थ बदनाम गराउनु ठिक नभएको उपस्थित जनताहरुले बताएका छन ।