२०८३ बैशाख ३१ गते बिहिवार | 2026 May 14th Thursday

स्ववियु निर्वाचन जनकल्याण क्याम्पसमा लगाएकाे ताल्चा अझै खुलेन-मनाेयन दर्ताकाे समय सकियो

सल्यानमा स्ववियु निर्वाचनमा जिल्लाकाे निर्णय नमान्ने भन्दै शनिबार बिहान जनकल्याण क्याम्पस थारमारेमा लगाएको ताल्चा दिउसो ३ बजेसम्म खुल्न नसक्दा निर्वाचन प्रक्रिया बिथोलिएको छ।

जिल्लामा क्रियाशिल सम्पूर्ण विद्यार्थी संगठनहरूको सहमतिमा क्याम्पसहरुमा भागभण्डा गरिएको थियो । तर सल्यानकाे क्षेत्र नं. क मा नेपाल विद्यार्थी संघलाई एउटा पनि क्याम्पस नपरेकाे निर्णय नमान्ने विज्ञप्ति लेखेर क्याम्पसमा ने.वि.संघ इकाई कार्यसमितिले ताल्चा लगाएकाे थियो । विज्ञप्तिमा जनकल्याण क्याम्पस थारमारेमा नेपाल विद्यार्थी संघकाे बलियो सम्भावना हुदाहुदै नेतृत्वले कुनै सर सल्लाह नगरी हस्तक्षेपकारी तरिकाले सहमति गरेकोमा आपत्ति जनाएको छ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका अनुसार फाल्गुन २७ गते समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताकाे समय ताेकेकाे थियो । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता ताेकिएकाेमा जनकल्याण क्याम्पसमा ने.वि.संघ इकाई कार्यसमितिले लगाएको ताल्चा नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन ।जनकल्याण क्याम्पसमा ने.वि.संघ इकाई कार्यसमितिले आफ्नो माग पुरा नभए सम्म ताल्चा नखाेल्ने अडान लिएको छ । ताल्चा खाेल्ने बिषयमा विभिन्न संगठन संग क्याम्पस प्रशासन, प्रहरी र स्थानीय जनप्रतिनिधि बिच छलफल भइरहेको छ ।

विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको थियो । यस्तै कार्यतालिका अनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस