सल्यानको बागचौर नगरपालिका वडा नं.१२ बाफुखोलामा रहेको दुर्गा सरस्वती माध्यमिक विद्यालयको ४७ औ वार्षिकोत्सब विभिन्न कार्यक्रमका गरेर मनाइएको छ ।
शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले शिक्षाको गुणस्तर वृद्धि गर्न बागचौर नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले दुर्गा सरस्वती मा.वि.ले शिक्षा क्षेत्रमा पुर्याएको योगदान र विद्यालयको प्रभाव राम्रो रहेको भन्दै विद्यालयको स्तर वृद्धिमा जोड दिने जनाउनु भयो । उहाले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक स्थिति सुधार गर्नुका साथै भौतिक पुर्वाधार निर्माणमा पनि जोड दिने बताउनुभयो ।
यस्तै वार्षिकोत्सब कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमकी विशिष्ट अतिथि बागचौर नगरपालिकाकी उप-प्रमुख सुम्निमा डिसी ( वली)ले दुर्गा सरस्वती माध्यमिक विद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने पाठशाला भएको बताउनुभयो । वलीले
रोल्पा जिल्लाका विद्यार्थीहरुले समेत अध्यन गर्ने उक्त विद्यालयमा शैक्षिक सुधारलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयले ४ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कालू लिला एण्ड प्रेम बुद्धि अक्षयकोषद्वारा उनिहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । बागचौर नगरपालिका १२ निवासी प्रेमकली वलीले १ लाख ११ हजार २ सय २७, प्रकाश लाल वली र कलि वलीले १ लाख ५१ हजार १ सय २७ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेते वलीको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष टीकाराम वली, वडा नं. ११ का वडाध्यक्ष केश बहादुर भण्डारी, कार्यपालिका सदस्य रेखा कुमारी डाँगी, शिक्षक, बिद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, वडावसी लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक नेव बहादुर वली गर्नुभएको थियोे ।