२०८२ माघ ९ गते बिहिवार | 2026 January 22nd Thursday

ईलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक शाहीलाइ सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार

६७ औं प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय थारमारे सल्यानमा कार्यरत प्रहरी निरीक्षक कनक बहादुर शाही कर्णाली प्रदेशकै सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरेका हुन् ।

शाहीले अपराध अनुसन्धानका क्षेत्रमा निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै पुरस्कार प्रदान गरिएको हो ।

२८ वर्षीया प्रहरी निरीक्षक शाही यस अघि जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखामा प्रमुख भएर काम गरेका थिए । पश्चिम दैलेखको दुर्गम ठाटीकाँधमा जन्मिएका शाहीले १ वर्ष सुर्खेतमा रहँदा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

शाहीले गत साउन २१ गते दुई जना भारतीय नागरिकले सुन तौल र मूल्यमा कैफियत गरी ठगी गरेको मुद्दामा २ जना प्रतिवादीलाई पक्राउ गरेर कारबाही गर्न सफल भएका थिए । ३०, साउनमा सल्यानको दार्मा गाउँपालिका–३ मा ३ जना व्यक्तिहरुलाई तेजाव एसिड प्रहार गरेर फरार भएका अभियुक्तलाई शाहीकै कमाण्डमा पक्राउ गरिएको थियो । यस्तै गत साउन ८ मा सल्यानको बागचौर –२ मा जुवा खेलिरहेको अवस्थामा १० जना व्यक्तिहरुलाई पक्राउ गरी जुवा नियन्त्रण मुद्दामा कारबाही गर्न सफल शाहीको छवि विवादरहित छ ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस