सल्यानको बागचौर नगरपालिका वडा नं. २ बागचौरमा अवस्थित ब्राइट रोजल्याण्ड बोडिङ् स्कुलले आयोजनामा तिज विशेष शुभकामना आदानप्रदान तथा बृहत् संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
तिज विशेष शुभकामना आदानप्रदान तथा बृहत् संस्कृतिक कार्यक्रमको उद्घाटन बागचौर नगरपालिकाका नगर प्रमुख जनकाराज गौतमले गर्नुभएको थियोे ।
नगर प्रमुख गौतमले महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसरमा यो कार्यक्रम राखेर महिला दिदिबहिनीहरुसँग आत्मियता जोड्ने अवसर दिएकोमा विद्यालय परिवारलाई धन्यवाद गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले स्थानीय सरकार, विद्यालय र अभिभावकहरु विचको सम्बन्ध सदैव समधुर रहनुपर्ने बताउनुभयो। गौतमले स्थानीय सरकार भनेको हरेकको भावना, मर्मसँग जोडिने र हरेक समस्या सँगै खुसीमा समेत हातेमालो गर्ने सरकार भएको बताउनुभयो ।
उहाँले निजि क्षेत्रका विद्यालयको लागि पनि वैधानिक हिसाबले गर्न सकिने सहयोग, सद्भाव, स्थानीय सरकार बिच हुने मित्रता सदैव कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमा विशिष्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीले तिज विशेष कार्यक्रम राखिनु, शान्त, शालिन तरिकाले मनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता किसिमका महान पर्वहरुले महिला दिदिबहिनीहरुलाई भड्किलो बनाउँदै गएकोमा दुख व्यक्त गर्दै हुने खाने र हुँदा खानेहरुबिचमा पनि समानान्तर तरिकाले पर्वहरु मनाउन आग्रह गर्नुभयो ।
उप-प्रमुख डि.सी.ले तिज विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै यस्ता किसिमका पर्वहरुलाई विकृतिका रुपमा फैलाउन भन्दा पनि सबै वर्गहरुले खुसी र उमङ्गका साथ मनाउनु पर्ने कुरामा जोड दिन आग्रह गर्नुभयो । उहाँले विद्यालय भनेको शिक्षा दिने क्षेत्र मात्रै नभई चौतर्फीरुपमा सिर्जनशिल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय प्याब्सनका केन्द्रीय सदस्य महेश देवकोटा, बागचौर नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपेश डि.सी., नेकपा एमाले बागचौर नगर कमिटी सचिव शोभाराम बस्नेत लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा प्याब्सन जिल्ला स्तरीय नृत्य प्रतियोगिता समेत भएको थियो जसमा एम.एम.एकेडेमी खलंगा सल्यानले उत्कृष्ट स्थान हासिल गरेको थियो भने तुल्सी मोर्डन बोर्डिङ स्कुल श्रीनगर र ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल बागचौरका विद्यार्थीले द्वितीय स्थान हासिल गरेका थिए ।
ब्राईट रोजल्याण्ड बोर्डिङ स्कुलका प्रिन्सिपल इन्द्र भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा, प्याब्सन सल्यानका सचिव एवम् विद्यालयका कोडिनेटर खिमराज डि.सी.ले सहिजीकरण गरेका गर्नुभएको थियोे, भने कार्यक्रममा बागचौर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, अभिभावक, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।