जिल्ला प्रहरी कार्यालय सल्यान परिसरमा रहेको पिपलको रुख अनुमति बिना नै कटान गरिएको पाइएको छ। उक्त कार्यप्रति स्थानीयवासीले आपत्ति जनाउँदै प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार सार्वजनिक महत्व बोकेको पिपलको रुख कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी हटाइएको हो। रुख कटान जस्तो संवेदनशील विषयमा सम्बन्धित निकायबाट पूर्व स्वीकृति आवश्यक पर्ने भए पनि त्यसको बेवास्ता गरिएको आरोप छ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी डा. हेमबहादुर केसी सम्पर्कमा आउन चाहनुभएन। रुख कटानबारे जिज्ञासा राख्नासाथ उहाँले फोन काट्नुभयो र त्यसपछि पटक–पटक सम्पर्क गर्दा पनि फोन उठाउनु भएन। यस घटनाले प्रहरीको जिम्मेवारी र जवाफदेहितामाथि थप प्रश्न खडा गरेको छ।
यता डिभिजन वन कार्यालय सल्यानका प्रमुख डीएफओ टेकबहादुर रावलले भने कुनै पनि स्थानको रुख कटान गर्नुअघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो। उहाँका अनुसार सार्वजनिक स्थानका रुखहरू हटाउँदा जोखिमयुक्त अवस्था वा पूर्वाधार निर्माणको आवश्यकता जस्ता स्पष्ट कारण हुनुपर्छ र वन नियमावलीअनुसार जिल्ला स्तरको समितिको निर्णयपछि मात्र कटान गर्न पाइन्छ।
“तर हालसम्म उक्त रुख कटानबारे कार्यालयलाई कुनै जानकारी प्राप्त भएको छैन,” रावलले बताउनुभयो।
यसैबीच सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले पनि घटनाबारे आफूलाई हालसम्म जानकारी नभएको बताउँदै थप विवरण सम्बन्धित निकायसँग बुझ्ने प्रतिक्रिया दिनुभयो।
स्थानीयवासीहरूले सार्वजनिक सम्पत्तिसँग सम्बन्धित यस्तो विषयमा कानुनी प्रक्रिया मिचिएको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
