सल्यानको बागचौर नगरपालिका वडा नं. ७ मा १ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न सानागाँडाकोट लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको आज नगर प्रमुख जनकराज गौतमले भव्य समारोहका बीच उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा उप–प्रमुख सुम्निमा डी.सी. वली, वडा अध्यक्ष प्रेम बहादुर डाँगी, वडा सदस्य, सुस्वा इकाई प्रमुख बिरेन्द्र जोशी, प्राविधिक कर्मचारी, उपभोक्ता समिति र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिती रह्यो।
उद्घाटनसँगै वडा नं. ७ का १५४ घरधुरी र एक सामुदायिक विद्यालयले प्रत्यक्ष रूपमा शुद्ध र सुरक्षित खानेपानी पाउने भएका छन्। यसले स्थानीय बासिन्दाको जीवनस्तर सुधार्ने र स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आयोजना बागचौर नगरपालिका, नेपाल सरकार, फिनल्यान्ड सरकार र युरोपियन युनियनको संयुक्त लगानीमा सम्पन्न भएको हो। आयोजनाले सुरक्षित खानेपानी पहुँच विस्तार, सरसफाइ सुधार र दिगो स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेको छ।
उद्घाटन समारोहकै अवसरमा वडा नं. ७ का ५ वटा टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ। प्रत्येक घरमा सरसफाइ, फोहोर व्यवस्थापन, शौचालय सुविधा र स्वास्थ्य मापदण्ड पूरा भएको आधारमा टोलहरूलाई आधिकारिक रूपमा प्रमाणित गरिएको हो। यसले वडा नं. ७ लाई स्वच्छता र स्वास्थ्यमा नमूना वडा को रूपमा स्थापित गरेको छ।
नगर प्रमुख जनकराज गौतमले भन्नुभयो:
“वडा नं. ७ को प्रमुख समस्या रहेको खानेपानी आजबाट पूर्णरूपले समाधान भएको छ। अब प्रत्येक घरधुरीले सुरक्षित र शुद्ध पानी पाउनेछन्। सरसफाइमा देखिएको प्रगति उत्साहजनक छ। बाँकी कामहरू छिट्टै सम्पन्न गरिनेछ।”
स्थानीय उपभोक्ता समिति र बासिन्दाहरूले नगर प्रमुख र नगर कार्यपालिकाप्रति आभार व्यक्त गर्दै भने:
“वर्षौंदेखिको हाम्रो समस्या अन्ततः समाधान भयो। अब हाम्रो टोलले सुरक्षित पानी र स्वच्छ वातावरणको लाभ पाउनेछ। हामी सरसफाइ अभियानमा निरन्तर सहकार्य गर्नेछौँ।”
कार्यक्रममा आयोजना सफल बनाउन महत्त्वपूर्ण सहयोग गर्ने र संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। बागचौर नगरपालिकाले स्वास्थ्य, सरसफाइ र जीवनस्तर सुधारमा यसलाई ऐतिहासिक उपलब्धि मानेको छ र भविष्यमा अन्य टोलहरूमा पनि दिगो सरसफाइ कायम राख्ने प्रतिबद्धता जनाएको छ।