२०८२ भाद्र २९ गते आइतवार | 2025 September 14th Sunday

बागचौरमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न “शैक्षिक सुधार महाअभियान वर्ष” सुरु

“हाम्रो मूल मन्त्र तथा शिक्षा क्षेत्रको दुरदृष्टि – बागचौर नगरपालिकाको प्राथमिकता र प्रतिबद्धता: प्रबिधिमैत्री, जीवनपयोगी र गुणस्तरीय शिक्षामा सबैको ऐक्यबद्धता” नीति तथा कार्यक्रमअनुसार बागचौरमा शैक्षिक सुधारको सुरुवाती महाअभियान वर्ष घोषणा

सल्यानको बागचौर नगरपालिकाले शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै शुक्रबार सम्पन्न प्रधानाध्यापक बैठकमार्फत “शैक्षिक सुधारको सुरुवाती महाअभियान वर्ष” घोषणा गरेको छ। बैठक नगर प्रमुख तथा शिक्षा समिति अध्यक्ष जनकराज गौतमको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, नगर प्रवक्ता, २ नं. वडा अध्यक्ष, शिक्षा समिति सदस्य दिपेश डि.सी, शिक्षा शाखा प्रमुख नरेन्द्र प्रसाद भट्ट, शाखाका कर्मचारी लक्ष्मीनारायण के.सी र तिलकराज वली, साथै पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक लगायत सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको थियो।

नगर प्रमुख गौतमले भन्नुभयो: > “शिक्षा नै विकासको मूल आधार हो भन्ने विश्वासका साथ यो महाअभियान सुरु गरिएको हो। हाम्रो उद्देश्य केवल परीक्षा पास गराउने मात्र होइन, जीवनपयोगी, सीपमूलक र प्रविधिमैत्री शिक्षा प्रदान गर्नु हो। ‘एक कक्षा, एक शिक्षक’ अवधारणालाई अझ प्रभावकारी बनाउँदै, अभिभावक सचेत गर्न ‘चुले सिकाइ’ कार्यक्रम लागू गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो।”

शिक्षा शाखा प्रमुख भट्टले भन्नुभयो: > “शिक्षा गुणस्तर वृद्धि, शिक्षक अभिवृत्ति र विद्यार्थी सिकाइ सुधार हाम्रो पहिलो प्राथमिकता हो। यस अभियानमार्फत दिगो शैक्षिक सुधारलाई ठोस कार्ययोजनामा कार्यान्वयन गरिनेछ।”

प्रमुख नीति तथा कार्यक्रमहरू

शिक्षक–विद्यार्थी अनुपात सुधार: “जहाँ विद्यार्थी त्यहाँ शिक्षक” अवधारणाअनुसार “एक कक्षा, एक शिक्षक” व्यवस्थालाई प्रभावकारी बनाउने।

सुविधा र अनुदान: शिक्षक, बालविकास सहजकर्ता र कर्मचारीलाई आवश्यक अनुदान तथा सहायता।

शिक्षा सामग्री र छात्रवृत्ति: कक्षा ८ सम्म निशुल्क पोशाक वितरण, जेहेन्दार, विपन्न र अपांग विद्यार्थीलाई छात्रवृत्ति।

परीक्षा र मूल्यांकन: कक्षा ५ र ८ को वार्षिक परीक्षा नगरस्तरीय सञ्चालन, परिणाम आधारित सम्मान र प्रोत्साहन।

विद्यालय सुधार र वातावरण: बालमैत्री, अपाङ्गता मैत्री, प्रविधिमैत्री, हरित र स्वच्छ वातावरणयुक्त विद्यालय निर्माण।

सीपमूलक शिक्षा र प्रयोगात्मक कार्य: माध्यमिक तहमा परियोजना तथा प्रयोगात्मक कार्यलाई प्राथमिकता।

अनुगमन र नेतृत्व विकास: शिक्षा परामर्श समिति, रेडक्रस, बाल क्लबमार्फत विद्यार्थी नेतृत्व क्षमता विकास।

डिजिटल र प्रशासनिक सुधार: डिजिटल हाजिरी, प्राविधिमैत्री सिकाइ, अभिलेख व्यवस्थापन र शिक्षक सेवा सुधार।

साझेदारी र प्रशिक्षण: सरकारी र गैर–सरकारी संस्थासँग साझेदारी, शिक्षक क्षमता विकास र शिक्षक सेवा आयोग तयारी कक्षा।

हाल बागचौरमा ७२ बालविकास केन्द्र, ६८ आधारभूत विद्यालय, १३ माध्यमिक विद्यालय, ६ संस्थागत विद्यालय र अन्य शैक्षिक संस्था सञ्चालनमा छन्। नगरपालिकाले यी सबैलाई क्रमशः गुणस्तरीय र नमुना विद्यालयको रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

बैठकमा सहभागी सबै सरोकारवालाले अभियानमा प्रतिवद्धता जनाउँदै नगरस्तरमा गुणस्तरीय शिक्षालाई जीवन्त बनाउन ऐक्यबद्धता प्रकट गरेका थिए।

प्रकाशित मिति : २०८२ भाद्र १३ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस