२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

शारदा मेयर टि–२० कप क्रिकेटमा बागचौरको शानदार जित: घरेलु मैदानमा शारदा स्तब्ध

सल्यानमा भएको शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले जितेको छ । सोमबार खलंगास्थित लुहापिङ खेलमैदानमा भएको फाइनल खेलमा घरेलु टिम शारदा नगरपालिकालाई स्तब्ध पार्दै बागचौर नगरपालिकाले उपाधि जितेको हो । उपाधि सँगै बागचौर नगरपालिकाले नगद एक लाख रुपैँया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै शारदा नगरपालिकाले भने उपविजेता रहदैँ नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

टस जितेर ब्याटिङ रोजेको बागचौरले निर्धारित २० ओभरको खेलमा आफ्नो महत्वपूर्ण ८ विकेट गुमाएर ११८ रनमा समेटियो । बागचौरका लागि हेमराज बस्नेतले २८ रन, किशोर वलीले २७ रन र मोहन डाँगीले १० रनको पारी खेल्नुभयो । अतिरिक्तमा बागचौरलाई २४ रन मिल्यो । बागचौर टिमको कप्तानी बामदेव केसीले गर्नुभएको थियो । बागचौरलाई ११८ मा रोक्न शारदा नगरपालिकाका खेलाडी सविन डिसीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिनुभयो ।

त्यस्तै सन्दीप जिवी, नविन नेपाली, आशिष सिंहले समान १/१ विकेट लिनुभयो । ११९ रनको लक्ष्य लिएर जवाफि मैदान प्रवेश गरेको शारदा नगरपालिकाले १५ ओभर ४ बलमा आफ्नो सम्पूर्ण विकेट गुमाएर १०३ रनमा समेटियो । शारदाका लागि आश्विन सिंहले सर्वाधिक २१ रन बनाउनुभयो । त्यस्तै नवराज बुढाथोकीले १८ रन र आशिष सिंंहले १५ बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अतिरिक्तमा शारदा नगरपालिकालाई २९ रन मिल्यो । शारदालाई १०३ रनमा रोक्न बागचौर नगरपालिकाका राजन वलीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिनुभयो । त्यस्तै निर्मल डाँगीले ४ ओभरमा १ मेडन राखी १६ रन खर्चेर २ विकेट लिनुभयो भने हेमराज बस्नेतले ३.४ ओभरमा २५ रन खर्चेर २ विकेट लिनुभयो । फाइनल खेलमा बागचौर १५ रनमा विजयी भयो ।

यस खेलका प्लेयर अफ द फाइनल व्याटिङबाट २८ रन र बलिङबाट २ विकेट लिने बागचौरका हेमराज बस्नेत हुनुभयो । यस्तै प्रतियोगिताको बेष्ट ब्याट्समेन शारदाका आश्विन सिंह, बेष्ट बलर त्रिवेणीका टेकबहादुर डाँगी, इमरजिङ प्लेयर त्रिवेणीका सुमित भण्डारी, लिटल मास्टर छत्रेश्वरीका विमोचन थापा, वेष्ट फिल्डर बागचौरका हेमराज बस्नेत, विकेट किपर त्रिवेणीका मोहन खत्री र प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी शारदाका सुरज बुढाथोकी बन्नुभयो ।

शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय कोषाध्यक्ष पदम बहादुर खड्का, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबाल, जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका २ का वडाअध्यक्ष सविन हमाल लगाएतको सहभागिता रहेको थियो ।

शारदा नगरपालिकाको आयोजना र नेपाल क्रिकेट संघ सल्यानको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा ८ वटा स्थानिय तह सहभागि भएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस