२०८३ बैशाख ३० गते बुधवार | 2026 May 13th Wednesday

घरायसी विवादमा सल्यानमा जेठाजुले गरे बुहारीको हत्या प्रयास, ९ पशु चौपायाको हत्या गरी पुगे प्रहरी समक्ष

सल्यानमा घरायसी विवादमा जेठाजुले भाई बुहारीको हत्या गर्ने प्रयास गरेका छन ।
जिल्लाको छत्रेश्वरि गाँउपालिका २, खोरबारे बस्ने जीबराज वलीले आफ्नै भाई बुहारीलाई कुटपिट गरेको स्थानीयले बताएका छन । उनका भाइ वैदेशिक रोजगारको लागि भारतमा गएका छन ।

जीबराजले आफ्नो भाइ बुहारीलाई काटछु भन्दै हसिया लिएर प्रहार गर्न खोजेपछि बुहारी भागेर ज्यान बचाएकि छन । हसियाले बुहारीको घाँटीमा थोरै काटिएको भए पनि उनको अवस्था सामान्य रहेको छ ।

बुहारीलाई कुटपिट गर्न नपाएपछि रिसको आवेसमा भाईका छोराछोरीलाई कुटपिट गर्न गएपछि स्थानीयले बच्चाहरुलाई त्यहाबाट भगाएर बचाएका थिए । त्यसपछि जीबराजले पशु चौपाय माथि जथाभावी हसिया प्रहार गरि पशुको हत्या गरेका छन । ३ वटा माउ बाख्रा, १ भेडा, १ वटा बोका, ४ वटा ओथारो बसेको माउ कुखुरा समेत मारेपछि बन्चरो लिएर दमाचौरमा रहेको इलाका प्रहरी कार्यालयमा उनी आफै गएको स्थानीय विजय कुमार घर्तीले बताए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घटनाबारे प्रहरीलाई आइतबार बिहान खबर भएपछि इलाका प्रहरी कार्यालय दमाचौरमा त्यहाँका वडा अध्यक्ष सहितलाई राखेर छलफल गरि घटनास्थलमा प्रहरी निरीक्षकको टोलि खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिए ।
दमाचौरबाट प्रहरी निरीक्षक गोपाल श्रेष्ठको कमान्डमा प्रहरी टोलि घटनास्थल पुगि अनुसन्धान गरिरहेको र आरोपित जीबराज प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस