२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

एमबाप्पेले थप ३ वर्षको सम्झौता गरेपछि पिएसजीविरूद्ध उजुरी दिने ला लिगाको तयारी

फ्रेञ्च फरवार्ड केलियन एमबाप्पेले पिएसजीसँग थप तीन वर्षको सम्झौता गरेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडमा जाने चर्चाका बीच एमबाप्पेले फ्रेञ्च क्लबसँगको सम्झौता थप गरेका हुन्। 

सन् २०१८ को विश्वकप विजेता २३ वर्षीय एमबाप्पेले पिएसजीसँग सम्झौता थप गरेपछि स्पेनिस ला लिगा भने रूष्ट बनेको छ। 

ला लिगाले पिएसजीसँगको सम्झौतालाई ‘निराशाजनक’ भनेको छ भने उसले युरोपियन फुटबल महासंघ, फ्रेञ्च र इयूका सम्बन्धित निकायका अधिकारीहरूलाई उजुरी गर्ने योजना बनाएको छ।

‘यस प्रकारको सम्झौताले युरोपेली फुटबलको आर्थिक दिगोपनलाई खतरामा पार्छ,’ ला लिगाले विज्ञप्तिमा भनेको छ ‘सयौं हजार रोजगारी र खेलकुदको अखण्डतालाई जोखिममा पार्छ, यसले युरोपेली प्रतियोगिताबाट मात्रै होइन हाम्रा घरेलु प्रतियोगितालाई पनि असर गर्छ।’

गत महिना पिएसजीले एमबाप्पेलाई अर्को दुई सिजन राख्नको लागि  १५० मिलियनमा सम्झौता गर्ने प्रस्ताव गरेको थियो।  त्यतिबेला उनले रियलसँग सम्झौता गर्ने विषयमा छलफल अघि बढाएका थिए।

एमबाप्पेले रियलसँग केही महिनाअघि आर्थिक प्याकेजमा समेत सहमति जनाएका थिए। तर सम्झौता भने गरेका थिएनन्। 

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस