२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

नेपाल विद्यार्थी संघ द्वारा सल्यानका ७ वटै क्याम्पसहरुमा संगठन दर्ता

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ सल्यानले आगामी चैत ५ गते हुने स्वबियु निर्वाचनका लागि जिल्लाका सबै क्याम्पसमा संगठन दर्ता गरेकाे छ । साेमबार जिल्लाका ७ क्याम्पसहरू सल्यान बहुमुखी क्याम्पस, शिवजन क्याम्पस, जनकल्याण क्याम्पस, बनगाड क्याम्पस, कपुरकोट बहुमुखी क्याम्पस, फारुला बहुमुखी क्याम्पस र संखमुल क्याम्पसमा शान्तिपूर्ण तरिकाले सङ्गठन दर्ता गरेको नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष केशव जंग डाँगीले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म दर्ताको समय तालिका रहेकाेमा साेही अनुसार नेपाल विद्यार्थी संघ सल्यानले सङ्गठन दर्ता गरेको अध्यक्ष डाँगीले बताउनुभयो ।

सल्यानमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू ,अखिल नेपाल विद्यार्थी सङ्घ समाजवादी ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन लगायतका अन्य संगठनले पनि विभिन्न क्याम्पसमा आफ्नो सङ्गठन दर्ता गराएका छन्।

नेपाल विद्यार्थी संघ निरंकुश, अधिनायकवादी र सामन्तीहरूको विरुद्धमा अनवरत सङ्घर्षमा रहि मानव अधिकार, लोकतन्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनिती, अर्थिक, शैक्षिक एवं समान्त मुलक राष्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आएको र गरी रहने प्रतिबद्धता अनुरुप जन्मिएको संस्था भएको समग्र शैक्षिक क्षेत्रकाे सुधारको लागि नेपाल विद्यार्थी संघकाे विकल्प नरहेको भन्दै सल्यानका ७ वटै क्याम्पसमा चैत ५ गते हुने स्वबियु निर्वाचनमा नेपाल विद्यार्थी संघकाे नेतृत्व लाई विजयी बनाउन अध्यक्ष डाँगीले सब‌ै विद्यार्थीमा अपिल गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, फागुन २१ गते मतदाता सूची प्रकाशित गरिनेछ। फागुन २५ गतेसम्म मतदाता सूची उपर दाबी विरोध गर्न सकिनेछ। सोही दिन दाबी विरोधको छानबिन गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण गरिनेछ भने प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारको मनोनयन पत्र दाखिला फागुन २७ गतेसम्म गर्न सकिनेछ। सोही दिन उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।

फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न सकिनेछ भने फागुन २९ गते उम्मेदवारी फिर्ता लिने अन्तिम समय निर्धारण गरिएको छ। सोही दिन अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।

त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार, मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन विश्वविद्यालय प्रशासन तथा सम्बन्धित निकायहरू तयारीमा जुटेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस