२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

सल्यानमा मृत भेटिएका रेवती र उनकाे छाेरीकाे हत्या पूर्व प्रेमीले गरेकाे पुष्टि

सल्यानकाे त्रिवेणी गाउँपालिका २ झालेढुंगामा भाद्र ३० गते मृत भेटिएका आमा-छोरीको हत्या भएको पुष्टि भएको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय सल्यानले हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्ण बहादुर बस्नेतलाइ पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाे छ ।

प्रेमकाे इगाे साँध्नकाे लागि अभियुक्तले रेवतीकाे हत्या गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए छन। कर्ण र रेवती बीच करिब ७ वर्ष पहिलेदेखि प्रेम सम्बन्ध रहेकाे र बीचमा झगडा परेर छुट्टिएपछि इगाे साँध्नकाे लागि हत्या गरेकाे अभियुक्तले प्रहरीमा बयान दिएकाे कार्कीले बताएका छन।

फेसबुकबाट भएकाे चिनजान हत्यासम्म कसरी पुगेत ?

प्रहरीका अनुसार ७ वर्ष अघि कर्ण र रेवतीकाे फेसबुक मार्फत चिनजान भएकाे थियाे । त्यसबेला रेवती अविवाहित थिइन् भने कर्णकाे बिवाह भैसकेकाे थियाे । फेसबुकबाट सुरु भएकाे उनिहरुकाे कुराकानी विस्तारै प्रेम र शारिरिक सम्बन्ध हुन सम्म पुग्याे । जसबेला उनिहरुले अश्लील फाेटाे र भिडियाेहरु खिचेर राखेका थिए ।

उनिहरुकाे प्रेम सम्बन्ध चलिरहेकै बेला २०७५ मा कर्ण राेजगारीका लागि बिदेश (दुबई) गए । त्यसपछि रेवतीले स्थानीय त्रिवेणी गाउँपालिका वडा नम्बर २ झालेढुंगाका सुकलाल थापासँग विवाह गरिन् ।

रेवतीकाे विहे भएकाे विषयलाइ कर्णले ठुलाे धाेका र इगाेकाे रुपमा लिएकाे प्रहरी अनुसन्धानमा खुलेकाे डिएसपी कार्कीले बताए । कर्ण विवाहित भएपनि रेवतीसँग दाेस्राे विवाह गर्न चाहेका थिए ।

‘रेवीतकाे विवाह भएकाे २ वर्षपछि फेरि कर्ण र रेवतीबीच फाेन तथा फेसबुक लगायतका माध्यामबाट पुनः सम्बन्ध जाेडिन पुग्छ ।’ डिएसपी कर्कीले भने, ‘तर पुरानाे इगाे र शारिरिक सम्बन्धका क्रममा लिइएका अश्लील तस्बिर र भिडियाेका कारण मनमुटाब सुरु हुन्छ ।’

मनमुटाबकाे विषय बढ्दै जाँदा करिब ८ महिना अगाडीबाट कर्णले रेवतीकाे हत्या गर्ने याेजना बुनेकाे प्रहरी अनुसन्धानमा खुल्न आएकाे छ । ४ महिना अगाडी रेवीतकाे हत्या गर्नकै लागि कर्णले दुबईमा कम्पनीमा बिदा समेत मागेकाे तर कम्पनीले बिदा नपाएपछि त्यसबेला राेकिएका थिए ।

तर भाद्र २५ गते दुबईबाट बिदा पाएर भाद्र २७ गते कर्ण आफ्नाे घर आइपुगे । घरमा २ दिन बसी याेजनाबद्ध रुपमा कर्णले भाद्र २९ गते बसमा बसेर श्रीनगर बजारमा गइ पेट्राेल र सलाइ किनेर पैदलमार्फत राती मृतककाे गाउँमा पुगेकाे अनुसन्धानमा देखिएकाे प्रहरीले जनाएकाे छ । श्रीनगरबाट मृतककाे गाउँ पुग्न करिब २० किलाेमिटरकाे दुरी छ ।

राती ९ः५० बजे मृतककाे घरभित्र पसेर सुरुमा रेवतीकाे घाँटी कपडाले कसेर लडाएकाे र त्यसपछि पेट्राेल छर्केर आगाे लगाएकाे अभियुक्तकाे बयान उदृत गर्दै प्रहरीले जनाएकाे छ । आगाे ओछ्यानमा सल्किन गइ सुतिरहेकी रेवतीकी ९ महिने छाेरीकाे पनि जलेर ज्यान गएकाे प्रहरीकाे भनाइ छ ।

कर्णले घटना घटाएर नजिकैकाे एकजनाकाे घरमा बास बसी भाेलीपल्ट बिहानै आफ्नाे घरतर्फ लागेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले हत्यारा पत्ता लगाउन विभिन्न खाले तरिकाहरु अपनाएकाे जनाएकाे छ ।

हत्या कर्णले नै गरेकाे भन्ने निष्कर्षमा पुगेपछि मात्रै हिजाे सिद्ध कुमाखकाे ढाेरचाैरबाट उनलाइ प्रहरीले पक्राउ गरेकाे हाे । घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि यसमा सहयोग गरिरहेको थियो।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस